दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ खुला

हेटौंडा टुडे
५ आश्विन २०७६, आईतवार १६:१६

काठमाडौं, असोज ५

दशैंको लागि सार्वजनिक यातायातको टिकट बुकिङ आजबाट खुलेको छ ।काठमाडौं उपत्यकाबाट दशैं मनाउन अन्य जिल्लामा जाने यात्रुका लागि यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ थालेका हुन् । टिकट बुकिङ खोल्नुपूर्व यातायात व्यवस्था विभागले हिजो गोंगबु बसपार्कमा केही सार्वजनिक यातायातका साधनको चेकजाँचसमेत गरेको छ ।विभागका अनुसार दशैंमा चल्ने गाडीहरुको प्राविधिक अवस्था बुझ्न चेकजाँच गरिएको हो । आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ गर्न सकिनेछ ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगाती र लगनखेलमा रहेका काउन्टरहरुबाट टिकट बुक गर्न सकिने व्यवस्था मिलाइएको छ ।

उपत्यका आसपासका जिल्लाहरुको लागि भने केही दिनपछि मात्रै टिकट बुकिङ खुलाउने तयारी यातायात व्यवसायीहरुले गरेका छन् । दशैंको लागि झण्डै ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ ।टिकट बुकिङ आजबाट खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाटमात्रै सञ्चालनमा आउनेछ । चाडपर्वको बेला यात्रु ठगिने सम्भावना रहेकाले सहायता कक्ष सञ्चालन गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*