परिचय बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा टुडे
२८ मंसिर २०७६, शनिबार १७:०२

२८ मंसिर २०७६,

प्रदेश नम्वर ३ का भूमि व्यवस्था, कृषि सहकारी मन्त्री दावादोर्जे लामाले सहकारीले ऋण लगानी गरेर व्याज मात्र प्राप्त गर्नु पर्याप्त नरहेको बताएका छन् ।

शनिबार हेटौंडामा भएको परिचय बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारण सभामा बोल्दै उनले सहकारी फरक ढंगले चल्नुपर्छ बताए । नेपाल सरकारले सहकारीलाई साझेदारीमा काम गरेर मुलुक निर्माण गर्न तर्फ अग्रसर रहेको छ । तर सहकारी उत्पादनमुखी भएन भने समृद्ध नेपालको परिकल्पना नारामा मात्र सीमित रहन्छ ।’ ‘सहकारीलाई उत्पादन र व्यवसायीमुखी बनाउनको निम्ति नागरिक पनि जुट्नपर्छ र नागरिकलाई रोजगार दिएर समृद्धि हासिल गर्नुपर्दछ ।’–उनले भने । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले प्रदेश ऐन र नियमावली आउने क्रममा रहेको बताए । सहकारी उत्पादन र प्रशोधनको क्षेत्रमा जानु जरुरी रहेकोमा उनले जोड दिए । सहकारीले शेयर सदस्य सुदृढ कार्यक्रम, सहकारी शिक्षण सिकाइका कार्यक्रमहरु लागू गर्नुपर्ने उनको भनाइ रहेको थियो । सहकारीका अध्यक्ष दिपक तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा परिचय उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट प्रदेश दैनिकका संवाददाता सुजन ढकाललाई सम्मान गरेको थियो । उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान गरेको थियो । १ हजार ५ सय २१ जना शेयर सदस्य आवद्ध रहेको परिचय बचतको शेयर पूँजी आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड ८४ लाख ११ हजार ७ सय रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा संस्थाको कुल निक्षेप ९ करोड ५२ लाख ४६ हजार रहेको छ भने खुद नाफा १५ लाख २० हजार ६ सय ३७ रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख रहेको छ ।

कार्यक्रममा उत्कृष्ट परिचय व्यावसायिक बचतकर्तामा मुक्तिनाथ दुग्ध विक्रि केन्द्र, उत्कृष्ट परिचय आवधिक बचतकर्तामा हरिकृष्ण शिवाकोटी, उत्कृष्ट परिचय लखपति बचतकर्तामा थरिमाया ब्लोन, उत्कृष्ट बचतकर्तामा रमएकवाल महासेठ, असल कारोबारीमा विष्णुकुमारी थापा, ओमप्रकाश खतिवडा र केदार श्रेष्ठलाई नगदसहित सम्मानित गरेको थियो । यसैगरी उत्कृष्ट कर्मचारीमा मनिला महर्जन र दुर्गा तिमल्सिनालाई नगद ५ हजार ५ सय ५५ रुपैयाँले सम्मान गरेको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिरेन्द्र ढुङ्गाना, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, मकवानपुर नमुना प्रगति बचत सहकारीका अध्यक्ष मिठाराम दहाल, हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चक्रधर विडारीलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*