हेटौंडा, १२ फागुन । यातायात नियम विपरित क्षमता भन्दा बढी माल बोक्ने १३ भारतीय ट्रकलाई सोमवार (आज) हेटौंडामा प्रहरीले नियन्त्रणमा लिएको छ । भैरहवास्थित सुगौली नाकाबाट नेपाल प्रवेश गरेका १३ वटा मालबाहक भारतीय ट्रकलाई आज सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयले समातेको छ । २५ टन क्षमताका ट्रकले ३३ टन माल बोकेपछि हेटौंडाका यातायात व्यवसायीहरुको सक्रियतामा भारतीय ट्रक समातिएको हो ।
पुर्वी नाकाबाट नेपाल प्रवेश गर्न नपाउने भएपछि पश्चिमी नाकाबाट छिरेका भारतीय ट्रकहरु जनकपुरको लागि कोइला बोकेर हेटौंडातर्फ आउँदै गरेका थिए । हेटौंडाका यातायात व्यवसायीहरुले कयौं संख्यामा क्षमता भन्दा बढी माल बोकेर आइरहेको ट्रक नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई अनुरोध गरेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख ढकालले यसअघि पनि पटक–पटक कारबाही गरेपनि भारतीय ट्रकहरुले नियम पालना नगरेको बताउनु भयो । उहाँले भारतीय टकलाई कडा नियम बनाएर ठूलो जरिवाना तिराउनु पर्ने बताउनु भएको छ ।
भैरहवा भन्छारबाट छिरेका भारतीय ट्रकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, भैरहवाले १ हजार जरिवाना तिराएर छोडेको थियो । त्यस यता भारतीय ट्रकले विभिन्न ट्राफिक प्रहरी कार्यालय, सवारी नापतौल (धर्मकाँटा)लाई पार गर्दै हेटौंडासम्म आइपुगेका थिए ।
साभार-तु खबर