
फागुन ३०, हेटौंडा/बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले हेटौंडा–१५ स्थित चुरियामाईमा रहेको सुरुङको निरीक्षण गर्नु भएको छ ।
१ सय ३ वर्ष पुरानो चुरियामाई सुरुङको निरीक्षण गर्दै मन्त्री फुयालले प्रदेश सरकारले सुरुङको पुर्ननिर्माण गर्ने तयारी अगाडि बढाएको बताउनु भएको छ । बागमती प्रदेश सरकारले चुरियामाई सुरुङमार्गमा रहेको ऐतिहासिक सुरुङको सम्भाव्यता अध्ययन गरि पुनः संचालनमा ल्याउने उहाँले बताउनु भयो ।
सुरुङलाई भविष्यमा पर्यटकीय स्थलको रुपमा विकास गर्ने मन्त्री फुयालले बताउनु भएको छ । सुरुङ भएको स्थानमा तत्कालिन नेपाली सेनाका बिगे्रडियर जनरल दिल्लीजंग थापा (इन्जिनियर)को प्रतिमा बनाउन लागिएको छ । तत्कालिन राणा शासनको पालामा राणा प्रधानमन्त्री, मन्त्रीहरुको गाडीलाई चुरे पहाड छिचोल्न सुरुङमार्ग बनाइएको थियो ।
नेपालका पहिलो सिभिल इन्जिनियरसमेत रहनु भएका थापाले डिजाइन गरेको चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । यसलाई टोनी हेगनले आफ्नो पुस्तक ‘नेपाल’मा एसियाकै पहिलो सुरुङ भएको उल्लेख गर्नु भएको छ । जीर्ण अवस्थामा रहेको यो सुरूङ हाल प्रयोगमा छैन ।
डा. टोनी हेगनले ‘नेपाल’ मा २४ अक्टोबर १९५० का दिन मानव निर्मित सुरुङ देखेर आफू आठौं आश्चर्यमा परेको लेख्नु भएको छ । उक्त पुस्तकमा उहाँले लेख्नु भएको छ, ‘नेपालभन्दा ठूलो भारतले पनि सुरुङ प्रविधि भित्र्याउन नसकेको अवस्थामा नेपाल सफल भएको छ ।’
इन्जिनियर थापाले सुरुङको डिजाइन गरी निर्माण गर्नु भएको थियो । हेटौंडा उपमहानगरपालिकाको १५ लाख लगानीमा थापाको पूर्णकदको प्रतिमा बनाउन लागिएको हो ।
मन्त्री फुयालले थापाको प्रतिमा बनाउने स्थलको अनुगमन गर्नु भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १ वैशाख २०७७ मा थापाको प्रतिमाको अनावरण गर्ने कार्यक्रम तर्जुमा गरिएको भौतिक पूर्वाधार विकास मन्त्री फुयालले बताउनु भयो ।
इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गर्नु भएको थियो । अमलेखगन्ज र भीमफेदी सडकबीचमा पर्ने चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नुपर्ने बाध्यता थियो । बक्स कटिङ गर्न उपकरणहरू नभएकाले मानिसद्वारा सुरुङ खनिएको थियो ।
चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाउनु भएको हो । सपनामा उहाँले त्यसै स्थानमा देवी देखेको र पूजाआजा गरेर मात्र सुरुङ खन्नू भनेकाले विधिपूर्वक पूजा गरेर सुरुङ खन्ने काम गर्नुको साथै मन्दिर पनि बनाएको जनविश्वास छ ।
सुरुङ निर्माणका बेला ‘यस क्षेत्रका बासिन्दाहरूले गीतै बनाउनु भएको थियो, ‘हाम्रा राजा क्या अक्कलदारी, ल्याए मोटर चुरेमा भ्वाङ पारी ।’ भीमफेदीबाट काठमाडौं आवत—जावत गर्न निर्मित उक्त सुरुङले त्यति बेला नेपालीहरूको जनजीवनलाई निकै सहज बनाएको थियो ।
तत्कालीन सडक विभागका प्रमुख इन्जिनियर दीप्तिजंग थापाद्वारा लिखित पुस्तकका अनुसार चिफ इन्जिनियर डिल्लीजङ्ग थापाले आफ्नो कार्यकालमा मुलुकमा १२ वटा महत्त्वपूर्ण भौतिक संरचनाको डिजाइनका साथै निर्माण गराउनु भएको थियो ।
चुरिया सुरुङ, हेटौंडा—काठमाडौं रोपवे, विसं १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौंमा रहेका राणाजीहरूका दरबार, नेपालको प्रथम कार्यालय डिल्लीबजार चारखाल अड्डा, नेपालको प्रथम रेल्वे जनकपुर–जयनगर रेल्वे निर्माण गर्नुका साथै १९९० को भूकम्पबाट भत्केको शीतल निवासको पुनर्निर्माण गर्नु भएको थियो ।
स्रोत : tukhabar.com

