हवाई उडान जेठ २ सम्म बन्द, ‘लकडाउन’बारे मन्त्रिपरिषद्ले निर्णय गर्ने

टुडे संवाददाता
१३ बैशाख २०७७, शनिबार १९:३५

वैशाख १३,काठमाण्डाै / कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए । समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरे पनि लकडाउनको विषयमा भने केही निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो ।

लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भए पनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उहाँले बताउनुभयो । लकडाउनको विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सचिव बिडारीले बताउनुभयो ।

प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समीक्षा भएको छ । लकडाउनको प्रभावकारिता, कार्य सफलताका विषयमा समीक्षा भएको सचिव बिडारीले बताउनुभयो ।

सचिव बिडारीले अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको बताउनुभयो । स्वास्थ्य सामग्री चाहिएको ठाउँमा सजिलै पुर्‍याउन सकिने अवस्थामा सरकार रहेको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*