जेठ २२,हेटौंडा/नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापती इन्द्रबहादुर बानियाँले हावाहुरीका कारण ज्यान गुमाएका र घाइते भएकाहरुको परिवारलाई राहत स्वरुप रकम हस्तान्तरण गरेका छन् ।
आफु सोही क्षेत्रको निर्वाचित प्रदेश सांसद भएकोले प्रदेश सरकारबाट आफुलाई प्राप्त हुने सेवा सुबिधा बापतको केही रकम मृतकको परिवारलाई किरिया खर्च स्वरुप र घाइतेलाई उपचार खर्च स्वरुप उपलब्ध गराइएको बानियाँले जानकारी दिएका छन् ।
मृतक बिरमाया प्रजा र आयुस मगरको परिवारलाई किरिया खर्च स्वरुप दश हजारका दरले उपलब्ध गराइएको छ । घाइते शम्भु सुनार र मनिकलाल बलको उपचारमा सहयोग होस भनेर पाँच हजारका दरले रकम उपलब्ध गराइएको बानियाँका स्वकीय सचिव मिलन पुडासैनीले बताए ।
उक्त रकम आज काँग्रेस राक्सिराङ गाउँपालिकाका सभापति बिरेन्द्र जिम्बाले सम्बन्धीतलाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै गाउँपालिकाको तर्फबाट पनि मृतक प्रजाको परिवारलाई ६ हजार र मगरको परिवारलाई १० हजार किरिया खर्च उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
जेठ १३ गते आएको हावा हुरीका कारण राक्सिराङका २ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिकाको अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ्को पनि उपस्थिती थियो।