असार १५ हेटौंडा, कोरोना भाइरसका कारण अहिले पूरा विश्व प्रभावित बनेको छ । न त संक्रमितको संख्या रोकिने क्रममा छ न त यसको खोप बन्ने कुनै निश्चित नै । भाइरसको खोपबारे अनुसन्धान भइरहे पनि भाइरस समाजबाट पूरा रुपमा नहट्ने केही वैज्ञानिकहरुको दावी छ । पूरा विश्वलाई प्रभावित बनाइरहेको भाइरसले नेपाललाई प्रभाव नपार्ने कुरै भएन । यस्तो महामारीको बेलामा समाजलाई सही र सकारात्मक सूचना प्रवाह गर्न पत्रकारहरु दिनरात नभनी लागिपरेका छन् ।गत चैत ११ गतेदेखि नेपालमा लकडाउन सुरु भयो । लकडाउनले गर्दा अत्यावश्यक भन्दा बाहेकका सबै सेवाहरु बन्द भयो । सही र सत्य सूचना सम्प्रेषण गर्न पर्ने भएकोले सञ्चार माध्यमहरु बन्द भएनन् । लकडाउनका कारण बजार ठप्प नै भयो जसका कारण सञ्चारकर्मीहरुको आम्दानीको स्रोत बिज्ञापन रोकिए । जसका कारण सञ्चार माध्यमलाइ आर्थिक संकट आइप¥यो । केही समयका लागि पत्रपत्रिका बन्द भए पनि अरु विद्युतिय सञ्चारमाध्यमहरु भने निरन्तर समाचार संकलन र सम्प्रेषणमा लागिरहे । यस क्रममा केही पत्रकारहरु संक्रमित पनि भए । विभिन्न गाउँ–ठाउँमा समाचार संकलनको लागि पुग्न पर्ने हुनाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई जस्तै सञ्चारकर्मीहरुलाई पनि उच्च जोखिम रहन्छ । तर आफ्नो पेशा हो गर्नै प¥यो ।
विभिन्न संघ–संस्था र व्यक्तिहरुको गुनासो सुन्ने, समस्याको पहिचान गर्ने र समाधानका उपायहरुको खोजी गर्ने पत्रकारहरु आफैँ नै मारमा परिरहेका छन् । कुनै कर्मचारीले तलब पाएनन्, कसैले भाडा तिर्न नसकेर समस्यामा परे, कति मान्छेहरु खान नपाएर भोकभोकै छन् भन्ने दुःखका कुराहरु सम्प्रेषण गर्ने पत्रकारको स्थिति परिस्थिति के–कस्तो छ भनेर बुझ्ने कुनै पनि संस्था वा सरकारी निकाय देखिएन । अरुको समस्याहरु सम्प्रेषयण गरेर सहयोगी हातहरु जुटाईदिने सञ्चारकर्मीले आफ्नो समस्या कसलाई भनोस् । सञ्चार माध्यम बलियो भएको भए यो समस्या आइपर्ने थिएन होला । जसोतसो आफ्नो खर्च टारिरहेका सञ्चारमाध्यमहरुले आगामी दिनमा कसरी संस्था चलाउलान् भन्न सकिने अवस्था छैन । अवस्था भयावह भयो भने सञ्चारकर्मीहरुलाई कसरी हौसला प्रदान गर्दै आफ्नो कार्यमा नियमित लाग्न उत्प्रेरित गर्ने भन्ने कुनै पनि सरकारी योजना नभएका कारण पनि समस्या झन् थपिँदै गएको छ । जसका कारण पत्रकारिता गरेर यसैमा आफ्नो भविष्य देख्ने नयाँ पुस्ताको लागि प्रश्न खडा गरेको छ । के देशमा पत्रकारिता नै गरेर जीवन धान्न सकिएला ? के सञ्चार क्षेत्रमा लागेर आफ्नो भविष्य उज्ज्वल बनाउन सकिएला ? यस्ता प्रश्नहरु पछिल्लो पुस्ताका सञ्चारकर्मीहरु माझ छ । देशमा लकडाउन खुकुलो भएपनि बजार अन्यौलमा छ । बजार नै सुस्त भएपछि सञ्चार माध्यमहरुको आम्दानीको स्रोत विज्ञापनहरु बन्द भएका छन् । यसरी आम्दानीका स्रोतहरु बन्द भएका कारण अधिकांश साना तथा मध्यम खालका सञ्चार माध्यमहरु आर्थिक चपेटामा परेका छन् भने कतिपय सञ्चारमाध्यमहरु बन्द भईसकेका छन् भने कति बन्द हुने स्थितिमा छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघिसकेको छ । रोकिने कुनै संकेत नै छैन । महामारीले कुन रुप लिने अहिले नै अड्कल गर्न सकिने अवस्था नै छैन । यस्तो महामारीको बेलामा समाजमा रहेका सर्वसाधारणको पीडा, समस्याको सम्बन्धित निकायबाट हल गर्ने, सरकार र सम्बन्धित क्षेत्रलाई खबरदारी गर्ने हरेक सञ्चारकर्मीको कर्तव्य हो । यसका अतिरिक्त समुदायलाई सकारात्मक र सहि सूचना सम्प्रेषण गर्नु हाम्रो धर्म हो । सबै सञ्चारकर्मी यसै धर्म निभाउन लागिपरेका छन् । हरेक क्षेत्रको केही न केही कमजोरी हुने गर्दछ । पत्रकारिता क्षेत्र पनि अपवाद हुँदैन । यसमा पनि केही र कोही कमजोरी होला तर समाजलाई शिक्षित, सहि सूचनाको पहुँच पु¥याउने महत्वपूर्ण र भरपर्दाे माध्यम भनेको पत्रकारिता नै हो । यसरी समाजलाई सचेत र सूचित गराउने संस्थामा काम गर्ने सञ्चारकर्मीहरु नै आर्थिक चपेटामा परेपछि समाजलाई नराम्रो असर पर्ने पक्का छ तर सम्बन्धित क्षेत्रले न त यसप्रति ध्यान दियो तर कुनै सरकारी निकायले ।
आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही आर्थिक सहयोग मिल्ने गरी बजेट पारित होला भन्ने धेरै सञ्चार माध्यमलाई आशा थियो तर यसो भएन । न त विज्ञापन छ न त कुनै अन्य आम्दानीको स्रोत । सञ्चारमाध्यमलाई यसरी आर्थिक संकट आईपरेर धमाधम सञ्चारमाध्यमहरु बन्द हुने अवस्था आउने हो भने देशमा पत्रकारिताको कुनै भविष्य देखिँदैन । पत्रकारिता पनि एक व्यवसाय हो । सहि र सकारात्मक सूचना सम्प्रेषण गरे बापत विभिन्न संघ–संस्था र सरकारी स्तरबाट विज्ञापनबाट आर्थिक आम्दानी गर्दछन् र यसैबाट सञ्चारकर्मीहरुले आफ्नो गुजारा गरिरहेका हुन्छन् । तर सबैतिरबाट आम्दानीका स्रोतहरु बन्द हुँदै गएपछि सञ्चारकर्मीहरु सबै मारमा परेका छन् । यसप्रति सम्बन्धित निकायको ध्यान जाओस् ।प्रदेश दैनिक बाट