हेटौंडा, २ साउन/नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका संसथापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको ३८ औं स्मृति दिवसमा साउन ६ गते रक्तादान कार्यक्रम गर्ने भएको छ ।
कांग्रेस मकवानपुरको शुक्रबार बसेको नियमित बैठकले २०३९ साल साउन ६ गते बी.पी. कोइरालाको स्वर्गारोहण भएको दिनलाई बी.पी. स्मृति दिवसकोरुपमा मनाउँदै कांग्रेसको जिल्ला पार्टी कार्यालयमा रक्तदान कार्यक्रम गर्न लागेको हो । कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले केन्द्रीय परिपत्रअनुसार पार्टीको अन्तरिम संरचना बमोजिम साउन महिनाभित्र मकवानपुरका १० वटै स्थानीय तहमा क्रियाशिल सदस्यता नविकरण तथा नयाँ क्रियाशिल सदस्यता वितरण गरिसक्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो ।
बैठकले उपसभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ७ सदस्यीय क्रियाशिल सदस्यता प्रारम्भिक छानविन समितिसमेत गठन गरिएको छ । जसको सदस्यहरुमा पार्टीका सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्यहरु राजिव सुबेदी र हरिप्रसाद वाग्ले रहेका छन् भने शुक्रबारै संयोजक लामिछानेले कोषाध्यक्ष गोपीलाल विश्वकर्मा र जिल्ला सदस्य अमृता थापामगरलाई समितिमा मनोनित गर्नुभएको छ । त्यसैगरी बैठकले असार महिनाभित्र दिवंगत हुनुभएका कांग्रेसका क्रियाशिल सदस्य तथा परिवारजनमा समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
बैठकमा राप्रपाबाट कैलाश गाउँपालिका अध्यक्षका उम्मेदवार भीम लामा राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । लामालाई पार्टीका पदाधिकारी तथा सदस्यहरुले टिका तथा खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो । बैठकमा कांग्रेस मकवानपुरका पदाधिकारी, सल्लाहकार, जिल्ला कार्यसमिति सदस्यहरु, प्रतिनिधि सभा तथा प्रदेशसभाका सभापतिहरु, नगर सभापतिहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।