आज श्रीकृष्ण जन्माष्टमी

टुडे संवादाता
२७ श्रावण २०७७, मंगलवार १२:४९

हेटौंडा/वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मेला लाग्नैन । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।

मुलुकभर कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजाआराधना र व्रतउपासना गरीे यो पर्व मनाइँदैछ । यस अवसरमा श्रीकृष्णद्वारा प्रतिपादित गीतादर्शन र कृष्णतत्वबारे धार्मिक विवेचन र प्रवचन कार्यक्रम पनि आयोजना गरिएको छ ।

द्वापरयुगमा माता देवकी र पिता वसुदेवबाट आठौं सन्तानका रुपमा मथुराको बन्दीगृहमा भगवान कृष्णको जन्म भएको हो । भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी नक्षत्रमा उहाँको जन्म भएकाले यस दिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म हुँदा बन्दीगृहका पहरेदार मोहित भई कारागार खुलेको हुँदा यस रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ ।

पृथ्वीमा प्राणीको संरक्षण र धर्मको संस्थापनाका लागि भगवान विष्णुले आठौं अवतारको रुपमा कृष्ण अवतार लिनुभएको मानिन्छ । उहाँको यस अवतारलाई पूर्णावतार मानी भगवान कृष्णलाई योगेश्वर भन्ने गरिन्छ । धर्म रक्षार्थ उहाँले कंसको बध गर्नुभएको र गाई संरक्षणका लागि गोवद्र्धन पर्वत बचाउनुभएको पाइन्छ । भगवान कृष्णले कंसपात्र पूतनाको स्तनपान गरी रगतसमेत चुसेर उनको संहार गरेको सम्झनामा नागपञ्चमीदेखि देखाइने लाखेनाच कृष्णाष्टमीमा सेलाउने चलन छ । यस दिनमा कृष्णको बाल्यकाल झल्काउने बाललीला, यौवनकालको रासलीला लगायतका कृष्णलीलाको मञ्चन गरिन्छ ।

भगवान कृष्णले महाभारतको युद्धका बेला अन्याय र असत्यको बाटोमा लागेका कौरवको विपक्षमा रहेर सत्य र परोपकारमा लागेका पाण्डवलाई साथ दिई धर्मयुद्ध गराई न्यायको स्थापना गर्न सहयोग गर्नुभएको थियो । धनुषधारी अर्जुनको सारथी बनेर उहाँले दिनुभएको ज्ञानयोग, कर्मयोग तथा भक्तियोगको गीतादर्शन विश्वमै बेजोड मानिन्छ । श्रीमदभागवत् गीताको रुपमा परिचित यो ग्रन्थ वेद उपनिषद्को सारसंग्रह भएकाले धर्मग्रन्थका रुपमा सम्मानित छ । कृष्णाष्टमीका दिन उहाँको जीवनी र ज्ञानले भरिएका कृष्णचरित्र,भगवतगीता,महाभारत, श्रीमदभागवत महापुराणको वाचन श्रवण गरिनुका साथै घरघरमा राधाकृष्णको झुला निकाली भजनकीर्तन र पूजाआजा गरिन्छ ।

कृष्णाष्टमीदेखि लोकमा तीजको गीत गाउन थालिन्छ । कृष्णाष्टमीका दिन ललितपुरको पाटनस्थित कृष्णमन्दिर, काठमाडौको स्वयम्भूमा रहेको गीतामन्दिर, टेकुमा रहेको राधाकृष्णमन्दिर, बूढानीलकण्ठस्थित कृष्णमन्दिरका साथै चतराधाम, कालीगण्डकी नदीकिनारमा रहेका देवघाट केलादीघाट रुरुक्षेत्रका कृष्णमन्दिरलगायत देशैभर भगवान श्रीकृष्णको विशेष भक्ति र उपासना गरी कृष्णजन्माष्टमी पर्व मनाउने परम्परा छ । तर यस वर्ष कारोना भइरसको संक्रमणबाट उत्पन्न महामारीका कारण यस वर्षको कृष्णाष्टमी पर्व प्रभावित भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*