राष्ट्रिय फुटबल टोलीका २३ खेलाडीको पीसीआर परीक्षण

टुडे संवादाता
२७ श्रावण २०७७, मंगलवार १४:५४

काठमाडौं/अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका २३ खेलाडीको पीसीआर परीक्षण गरेको छ । एन्फाले मंगलबार पाटन अस्पतालमा दोस्रो दिन २३ जना खेलाडीसहित ३० जनाको पीसीआर परीक्षण गरेको हो ।

बन्द प्रशिक्षण सुरु गर्न क्वारेन्टिनमा बसेका खेलाडीहरु मध्येबाट ११ खेलाडी, दुई अफिसियल र १२ पदाधिकारी गरी २५ जनाको पीसीआर परीक्षण सोमबार सकिएको थियो । त्यस्तै एन्फाले आज बाँकी २३ खेलाडी र ६ अफिसियलको पीसीआर परीक्षण गराएको हो ।

मंगलबार परीक्षण गरिएका खेलाडी र पदाधिकारीको रिपोर्ट भने दुई–तीन दिनमा आउने जनाइएको छ । हिजो र आज गरि जम्मा ५४ जनाको परीक्षण भएको हो ।

यसअघि ललितपुर महानगरपालिकाले क्वारेन्टिनका रुपमा प्रयोग गर्दै आएको एन्फा होस्टेल समयमै खाली गर्न नसकेपछि खेलाडीको पीसीआर परीक्षणमा ढिलाइ भएको थियो ।

फिफा विश्वकप २०२२ एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको तयारीमा रहेको एन्फाले भदौ १ बाट प्रशिक्षण थाल्ने तयारी गरेको छ । एन्फाले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई तीन समूहमा राखी प्रशिक्षण गर्ने जनाएको छ । नेपालले विश्वकप छनोटअन्तर्गतका बाँकी तीन खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*