विप्लव र वैद्यसहित चार भाइ कम्युनिस्टबीच संयुक्त मोर्चा बनाउने सहमति, सरकारविरुद्ध संघर्षका कार्यक्रम चाँडै घोषणा गरिने

हेटौंडा टुडे
१४ पुष २०७७, मंगलवार १२:४८

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी विप्लव, नेकपा क्रान्तिकारी माओवादी, नेपा कम्युनिस्ट पार्टी ऋषिराम कट्टेल समूह र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ।

चारै पार्टीका प्रमुखहरुको हस्ताक्षरसहितको साझा वक्तव्यमार्फत चार बुँदे ध्यानाकर्षण जारी गर्दै उक्त सहमति भएको जनाएको हो।

विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव, वैद्य समूहका महासचिव मोहन वैद्य किरण, नेकपाका ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले उक्त वक्तव्यमा हस्ताक्षर गरेका छन्।

वक्तव्यवमा कथित नयाँ संविधानअनुसार भएको चुनावबाट केपी ओलीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै संकट थोपर्दै आएको दाबी गर्दै चार पार्टीको ध्यानाकर्षण भएको जनाएको छ। वैदेशिक शक्तिको इसारामा प्रतिनिधि सभा विघटन गरेको चारै पार्टीको आरोप रहेको छ। ‘दलाल तथा प्रतिक्रयावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

चार पार्टीको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै घोषणा गरिने विज्ञप्तिमार्फत जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*