हेटौंडा/ चैत्र बैशाखमा वन जंगलमा लाग्ने डडेलो भने नेपालीहरुको लागी वर्षेनी सामना गर्नुपर्ने नियती नै बनेको छ । सरोकारवाला निकायले वर्षेनी गरेका आगलागी नियन्त्रणका प्रयास र जनचेतना मुलक कार्यक्रम बालुवामा पानि हाले जस्तै भएको छ ।
चैत्र बैशाखको खडेरी संगै मकनानपुरमा वन जंङगलमा आगलागी हुने क्रम बढेको पछिल्लो एक हप्ता देखी मकवानपुरको विभिन्न स्थानमा रहेको बनजंङलमा आगलागी भैरहेको छ । मकवानपुरको सदरमुकाम हेटौंडा बजार क्षेत्रमा रहेको वन जंगलमा आगलागी भैरहेको आगलागीका कारण खानेपानीको पाईप र ट्याङकी समेत जलेर नष्ट भएको स्थानियले गुनासो गरेका छन् ।
लगातारको आगलागिका कारण सुन्दर नगरीका रुपमा परिचित हेटौंडा उपमहानगरपालिका सहित आसपासको क्षेत्रहरुमा वायु प्रदुषण फैलिएको छ । हेटौंडाको मुख्य बजार सहित आसपासका क्षेत्रमा फैलिएको धुवाँका कारण मानिसहरुमा आखाँ पोल्ने , स्वास प्रश्वासमा समस्या देखिन थालेको छ । मानिहरुमा त यो समस्या प्रत्यक्ष रुपमा देखापरेको छ नै पशु चौपाया समेतलाई आगलागी बाट उत्पन्न भएको धुवाँले प्रतिकुल असर गरेको स्थानियबासिले गुनासो ब्यक्त गरेका छन् ।
जंगलमा डडेलो लगाउदा बोटबिरुवाको नयाँ पालुवा आउने ,घास उम्रने भएकाले मानिसहरुले लुकिछिपी वन जंगलमा डडेलो लगाउने गर्छन् । समुदाय भित्रकै मानिसहरुले वन जंगलमा आगलागी गराउने भएकाले प्रहरीले हालसम्म डडेलो लगाउने ब्यक्तिको पहिचान गर्न सकेको छै्नन । डडेलो लागेको खबर प्राप्त भएपछि स्थानियबासीको सहयोगमा आगोँ निभाउने ,समुदायसंग साझेदारी गरेर आगलागी बिरुद्ध जनचेतनामुलक कार्यक्रम गर्ने काम गरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक अविनाश अधिकारीले बताउनुभयो ।
विगत एक हप्ता देखी मकवानपुरमा रहेको कुल ७२ हजार हेक्टर वन क्षेत्रमध्ये करिब तिन हजार ५ सय हेक्टर क्षेत्रफलमा लागलागी भएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा भिरालो वनजंगल भएका कारण आगो नियन्त्रणमा समस्या देखिएको डिभिजन वन अधिकृत ईमनाथ पौडेलले बताउनुभयो ।
नेपालमा डडेलो नियन्त्रण गर्न अत्याधुनिक प्रविधि नभएका कारण डडेलो नियन्त्रणमा चुनौती देखिएको अधिकृत पौडेलले बताउनुभयो । सिमित श्रोत र साधनबाट आगलागी नियन्त्रण गर्नुपर्ने भएकाले आफुहरुले सक्दो प्रयास गरीरहेको दाबी गर्नुभयो । बिशेष गरी चैत बैशाखमा डडेलो लाग्ने समय भएकाले यस समयमा सरोकारवाला निकाय सहित आम नागरीकहरु समेत जिम्मेवार बन्न जरुरी देखिन्छ ।