
हेटौंडा । सरकारले खाना पकाउने ग्यास र चिनीसहितका सामग्री २० प्रतिशत छुटमा उपलब्ध गराउने भएको छ।
अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबीच बिहीबार बसेको बैठकले बजेटमा भएको व्यवस्था कार्यान्वयन थाल्ने निर्णय गरेको हो।
जस अनुसार बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै खाना पकाउने ग्यासको भाउ ११ सय २० रुपैयाँ तोकिएको कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले जानकारी दिए ।
त्यस्तै पिठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गरिने उनले बताए ।
पाँच जनाको परिवारले एक महिनामा दुई किलो पिठो, दुई किलो चिनी, दुई किलो नून, एक लिटर भटमासको तेल र एक सिलिण्डर खाना पकाउने ग्यास मात्र किन्न पाउने जोशीले जानकारी दिए । साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नु पर्नेछ ।

