ललितपुरमा भेटियो कपनको ढलमा परेका १० वर्षीय उज्ज्वलको शव

हेटौंडा टुडे
१० आश्विन २०७८, आईतवार १२:३१

हेटौँडा/ काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।

ललितपुरको बागमती गाउँपालिका वडा नम्बर १ घुसेलस्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए।

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए।

‘उनको अनुहार चिन्न गाह्रो हुने खालको छ। उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएको छ,’ बज्राचार्यले भनिन्, ‘चापागाउँमा बस्ने उनको माइजु नाता पर्ने महिला शव फेला परेको स्थानमा आउँदै हुनुहुन्छ।’

शवको पोष्टमार्टम गर्न त्यहाँबाट ललितपुरस्थित पाटन अस्पतालमा ल्याइँदैछ। प्रहरीले शवलाई दुई घण्टा बोकेर टीकाभैरवसम्म ल्याउनु पर्ने एसएसपी बज्राचार्यले बताइन्।

टीकाभैरवबाट गाडीमा हालेर ल्याउन लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*