मकवानपुरगढीमा हट्यो संधैको पीर, स्थानीय सरकार आएपछि बने दर्जन पुल

हेटौंडा टुडे
२१ कार्तिक २०७८, आईतवार ११:०१

हेटौँडा/ बागमती प्रदेशको मुकाम हेटौँडासँगै सीमाना जोडिएको मकवानपुरगढी गाउँपालिकालाई सामरी खोलाले दुई क्षेत्रमा विभाजित गरेको छ ।

सामरी खोला पारी ठूलो जनसंख्या भएका वडा छन्, जुन उत्तरी क्षेत्रमा भीमफेदी गाउँपालिकासँग जोडिएका छन् । पश्चिततर्फ हेटौँडासँग सीमाना जोडिएका वडा छन् । करिब ४ वर्षअघि उत्तरी तर्फका ५ र ६ नम्बर वडाबासी बर्खा लाग्नुअघि नै हेटौँडा पुगेर चार महिनालाई पुग्ने खाद्यान्नलगायतका सामान ल्याउने गर्थे ।

ढुक्कै थियो, बर्खा लागेपछि सामरी खोला, ज्यामिरे खहरेमा पानीको बहाव बढेपछि हेटौँडा जान सकिँदैन । ‘हामीले पहिला खोला बढेपछि हेटौँडा जान सकिन्न भनेर ४ महिनालाई पुग्ने नुन, तेलका सामान पहिल्यै लेराएर राख्थ्यौं ।’ वडा नम्बर ५ का इन्द्रजीत देवकोटा भन्छन्, ‘हेटौंडा जानपनि हामीलाई बर्खा सकिनु पर्थ्यो,’ उनले पुलको विकल्प नभएको अवस्थामा पालिकाले जनताको आवश्यकताअनुसार पुल निर्माण गरेकोमा खुसी व्यक्त गरे ।

हेटौँडाको बुद्धचोकबाट-५ नम्बर वडा आइपुग्न जम्मा ९ किलोमिटर र ६ नम्बर वडा पुग्न करिब १५ किलोमिटरको दूरी छ । ६ नम्बर वडा तरकारी उत्पादनका लागि गाउँपालिकाकै पकेट क्षेत्र हो । मौसमी तरकारी उत्पादनका लागि डुम्रेकुना र बाग्दली प्रख्यात छ । तर, विगतका बर्खामा उत्पादित तरकारीपनि बजार लैजान नसकिएको डुम्रेकुनाका विष्णु सिलवाल बताउँछन् । उनले स्थानीय तह आएपछि गाउँको मुहार नै फेरिएको बताए ।

मकवानपुरगढी साविकको आमभञ्ज्याङ, गढी, सुकौरा र बढीचौर गाउँ विकास समिति मिलेर गाउँपालिका बनेको हो । साविकको गाविस हुँदा भौतिक पूर्वाधार विकासबाट पछाडि परेको यी क्षेत्रमा अहिले आमूल परिवर्तन आएको छ । यी चार गाविस गाभिएर बनेको मकवानपुरगढी गाउँपालिकामा जनप्रतिनिधि आएपछि सडकसँगै एक दर्जन पुल निर्माणका चरणमा छन् ।

बर्खामा आवतजावत नै ठप्प हुने खोलामा भने गाउँपालिकाले पुल निर्माण गरिसकेको छ । गाउँपालिकाले जनप्रतिनिधि पाएपछि विकासमा फड्को मारेको हो । ठाउँ-ठाउँमा सडक निर्माणसँगै वर्षायाममा बाढी आउँदा खोला तर्न नसक्ने स्थानमा गाउँपालिकाले पक्की, फलामे पुल र कल्भर्ट निर्माण गरेको छ । बर्खामा सदरमुकाम हेटौँडासँगको सम्पर्क टुट्ने गरेको अवस्थाबाट गाउँपालिकाबासी मुक्त भएका छन् ।

गाउँपालिकाले ४ वर्षको अवधिमा ५ र ६ नम्बर वडाको मुख्य सडक (शहीद बासुदेव मार्ग) मा करिब ८० प्रतिशत सडक स्ल्याब ढलान गरिसकेको छ । यसैगरी १ नम्बर वडाको शिखरकटेरीबाट र ४ नम्बर वडाबाट गाउँपालिका केन्द्र पुग्ने सडकमा स्ल्याब ढलान भइसकेको छ । गाउँ–गाउँमा सडक, गाउँपालिका केन्द्र जोड्न ३ ठाउँमा पक्की पुल, हरेक वडाबाट गाउँपालिका केन्द्र पुग्न सडक र झोलुङ्गे पुल निर्माण तीव्र गतिमा अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष विदुर हुमागाईं बताउँछन् ।

गाउँपालिकाले ४ वर्षमा १५ किलोमिटर स्ल्याब ढलान र सडक कालोपत्रे गरेको छ । ४० किलोमिटर सडकमा ग्राभेल र ५० किलोमिटर नयाँ सडक ट्रयाक खोलेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ७० प्रतिशत आफ्नै बजेट र अन्य प्रदेश र संघीय सरकारको बजेटबाट पुल निर्माण गरिरहेको हो । आफ्नै बजेटबाट भने गाउँपालिकाले पुल निर्माण गरिसकेको छ ।

साना खोला, खोल्सी तर्नका लागि स्थानीयले समस्या भोग्दै आएकाले गाउँपालिकाले कल्भर्ट निर्माण गरेको अध्यक्ष हुमागाईं बताउँछन् । गाउँपालिकाका ८ वटै वडामा रहेका खहरे खोलाहरू र सामरी खोला ओहोरदोहोर गर्ने पुल नभएकै कारण धेरैले हरेक वर्षायाममा समस्या बेहोर्नुपर्‍यो । कतिपयले खोलासँगै बगेर प्राण त्यागेका पनि छन् ।

पुल नहुँदा गाउँपालिकाबासीले मृत्युवरण गर्नुपरेको कारण पनि पुल निर्माणलाई प्राथमिकताका साथ काम गरेको अध्यक्ष हुमागाईंले बताए । ‘खेलाका कारण सबैभन्दा धेरै प्रभावित क्षेत्रमा प्राथमिकताका साथ पुल निर्माण गरिएको छ । चालु आर्थिक वर्ष र आगामी वर्षहरूमा पुल निर्माणको काम जारी रहन्छ,’ उनले भने ।

संघीय सरकार र प्रदेश सरकारले पनि पुल र सडक निर्माणमा बजेट छुट्याएर काम भएको अध्यक्ष हुमागाईंले जानकारी दिए । संघीय सरकारको करिब १४ करोड लागतमा ६ नम्बर वडा र-२ नम्बर वडा जोड्ने पक्की पुल निर्माण भइरहेको गाउँपालिकाका योजना शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए । हरेक वर्ष वर्षायाममा सवारीसाधन सञ्चालनमा रोक लाग्ने ज्यामिरे खोलामा पुल बनेपछि गाउँपालिकाबासी खुसी छन् ।

यसैगरी गाउँपालिकाको पहलमा मकवानपुरगढी–४ वाइवा–डाँडा र मकवानपुरगढी–५ कालिवन जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । वडा नम्बर ८ ओखरडाँडा र भीमफेदी गाउँपालिकाको वडा नम्बर-२ इचुङ जोड्ने झोलुङ्गे पुल निर्माण भइरहेको छ । मकवानपुरगढी–५ सिमल्टार र ४ नम्बर वडाको कुसुमटार जोड्न ६५ लाख लागतमा फलामे पुल निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष हुमागाईंले जानकारी दिए ।

सडक नभएका र अहिले तत्काल समस्या भएका स्थानमा झोलुङ्गे पुल र फलामे पुल निर्माणले प्राथमिकता पाएका छन् । ६ नम्बर वडाको बाग्दली र ३ नम्बर वडाको देविडाँडामा जोडने स्टील ट्रस ब्रिज निर्माण भइसकेको छ । गाउँपालिका र संघीय सरकारको समपुरक बजेटबाट ४ करोड लागतमा पुल निर्माण भएको हो ।

सरमपुर र तल्लोछाप जोड्ने झोलुङ्गे पुल निर्माणको काम भइरहेको छ । वडा नम्बर-१ र बकैया गाउँपालिका वडा नम्बर-११ जोड्न दुईवटा गाउँपालिकाको संयुक्त लगानीमा झोलुङ्गे पुल निर्माण भइरहेको गाउँपालिका उनले बताए । शिलापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*