राष्ट्रिय जनगणनाका लागि मकवानपुरमा ५५० गणक खटिँदै

हेटौडा टुडे
२५ कार्तिक २०७८, बिहीबार ०९:४७

हेटौँडा/ राष्ट्रिय जनगणना–२०७८ आज बिहीबारबाट सुरु हुँदैछ । राष्ट्रिय जनगणना कार्यक्रमअन्तर्गत मकवानपुरमा ५५० जना गणकहरु परिचालन हुने भएका छन् । आजबाट सुरु हुने राष्ट्रिय जनगणनाका लागि गणकहरु हिजो बुधबार नै आ–आफ्नो भूगोलमा पुगिसकेको बागमती प्रदेश जनगणना कार्यालय हेटौंडाले जनाएको छ ।

मकवानपुरको १० स्थानीय तहमा तथ्यांक संकलन गर्न आवश्यकता अनुसार गणकहरु खटाइएको छ । ७ वटा स्थानीय जनगणना कार्यालयको स्थापना गरिएको छ । हेटौंडामा २ वटा स्थानीय जनगणना कार्यालयको स्थापना भएको छ । यस्तै इन्द्रसरोबर गाउँपालिकालाई समेट्ने गरी थाहा नगरमा एक, भीमफेदी गाउँपालिकालाई समेट्ने गरी मकवानपुरगढीमा एक, बागमती गाउँपालिकालाई समेट्ने गरी बकैयामा एक, मनहरी गाउँपालिकामा एक, कैलाश गाउँपालिकालाई समेट्ने गरी राक्सिराङ गाउँपालिकामा एक स्थानीय जनगणना कार्यालय स्थापना भएको छ ।

आजबाट गणकहरु मुख्य प्रश्नावलीसहित प्रत्येक घरमा पुग्नेछन् । मंसिर ९ गतेसम्म गणकहरु प्रत्येक घरमा पुगेर मुख्य प्रश्नावली मार्फत परिवारको विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाईसराई लगायत जनसांख्यिक विवरणहरु संकलन गर्नेछन् । यसअघि जनगणनाको पहिलो चरणमा १४१ सुपरिवेक्षकले मकवानपुरको प्रत्येक घर तथा परिवारमा पुगेर घरपरिवार सुचीकरण फाराम भरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*