हेटौँडा/ हरिबोधनी एकादशीको दिन मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा र मकवानपुरगढी-२ मा रहेको मकवानपुरगढीमा सोमबार(आज)मेला लाग्दै छ। हरेक वर्ष हरिबोधनी (ठूलो) एकादशीको दिनमा लाग्ने मेलाको अवसरमा आसपासको क्षेत्रमा माछामासु विक्रीवितरण रोक लगाइएको त्रिखण्डी मेला व्यवस्थापन उपभोक्ता समितिले जनाएको छ।
उक्त स्थानमा हर्षोल्लासका साथ मनाउने मेलालाई व्यवस्थित बनाउन र मेलाका समयमा हुने घटनालाई मध्यनजर गर्दै प्रहरी निरीक्षक नेतृत्वमा करिब ३० जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताएका छन्।
प्रत्येक वर्षमा मेला भर्न आउनेको त्यसक्षेत्रमा भीड लाग्ने गरेको छ। त्यसैगरी मेला अवधिमा हुने ट्राफिक जामालई व्यवस्थापनका लागि करिब १० जना ट्राफिक प्रहरी टोलि समेत खटाइएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रकाश पाण्डे बताएका छन् । त्यसैगरी आज मकवानपुरगढी वडा नम्बर-२ मा रहेको मकवानपुरगढी परिसरमा पनि भेला भर्न आउनेको भिडभाड देखिएको छ।उक्त क्षेत्रमा पनि संभावित घटनालाई मध्यनजर गरेर प्रहरी परिचालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ।हरिबोधनी एकादशीका दिन दुवै स्थानमा मेला लाग्ने गरेको छ।






















