नारायणी किनारमा चितवन महोत्सवको तयारी

हेटौंडा टुडे
२९ कार्तिक २०७८, सोमबार १७:१९

हेटौँडा/ कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यस वर्ष पुस २५ देखि माघ ४ गतेसम्म हुने भएको छ । कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो । महोत्सवको आयोजना उद्योग वाणिज्य सङ्घ चितवन र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवनको सहकार्यमा हुन लागेको हो ।
महोत्सवका लागि उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । संयोजक श्रेष्ठका अनुसार यस वर्ष महोत्सवमा ३५० कक्ष रहनेछन् । अघिल्ला महोत्सवमा ५०० भन्दा बढी कक्ष हुने गर्थे । श्रेष्ठले कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले कक्ष सङ्ख्या घटाइएको बताए । महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनको समेत कक्ष रहने बताइएको छ ।
महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुनेछन् । ती गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पुर्‍याउने सङ्घका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए । महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमूना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहनेछन् । श्रेष्ठका अनुसार महोत्सवमा दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव व्यवस्थित गर्न स्टेरिङ कमिटी बनाएर काम अघि बढाइएको छ ।
२०५३ देखि सुरु भएको महोत्सवको यो १३औं संस्करण हो । हरेक दुईदुई वर्षमा महोत्सव हुँदै आएको थियो । २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*