उपमहानगरपालिकाका ७ निर्णय: सार्वजानिक जग्गा संरक्षणको काम सुरु हुनै सकेन

हेटौडा टुडे
१ मंसिर २०७८, बुधबार ०९:५८

हेटौँडा / उपमहानगरबासीको दैनिकी सहज होस् भनेर २०७४ बैशाख ३१ गते हेटौंडा उपमहानगरपालिकाले नयाँ नेतृत्व पाएसँगै विभिन्न निर्णय गरियो । उपमहानगरपालिकाले जेठ १७ गते २१ जनाको उपस्थितिमा विभिन्न निर्णयहरु गरेको थियो । चुनाव भएको साँढे चार वर्ष लागिसक्यो । तर, पनि ती पहिलो बैठकका ७ निर्णयले हालसम्म पनि पूर्णता पाएको छैन । निर्णयअनुसारका काम भएका छैनन् नि भन्ने प्रश्नमा मेयर हरिबहादुर महत जवाफ दिन चाहँदैनन् । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिँदै गर्दा पनि निर्णयअनुसारका काम भने गर्न सकेका छैनन् ।

उपमहानगरपालिका प्रशासकीय अधिकृत रामकृष्ण थापाका अनुसार ७ निर्णयमध्ये केही सम्पन्न र केही सुरुवातको चरणमा र कुनै सुरु नै भएको छैन । केही कार्यान्वयन गरिएको छ ।निर्णय नम्बर १ स् निर्वाचनमा सहभागी भएर मतदान गरी जनप्रतिनिधिहरु चयन गर्न सफल भएकोमा सम्पूर्ण नगरबासीमा धन्यवाद दिने भन्ने कार्यक्रम निर्वाचनको केही समयपछि सम्पन्न गरिसकिएको छ ।

निर्णय नम्बर २ः उपमहानगरपालिका क्षेत्रका सार्वजनिक जग्गा संरक्षण गर्ने ।

प्रगतिःउपमहानगरपालिकाका सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय त गरियो । तर, कार्यान्वयन भने गर्न सकिएन । हालसम्म उक्त विषयमा कुनै कार्यक्रम गर्ने भनेर योजना नबनेको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले बताए । किन सुरु भएन भन्ने प्रश्नमा उनले मेयर सापलाई सोध्नु भन्दै कार्यपालिका बैठकका विषयका कुराहरु आफूले नबोल्ने प्रतिक्रिया दिए । सन्देश संवाददाता नगर प्रमुख हरिबहादुर महतलाई कार्यालयमै भेट्न जाँदा नभेटेको हुनाले फोन सम्पर्क गर्दा सार्वजनिक जग्गा संरक्षण गर्ने कुरा के भयो भन्ने प्रश्न सुन्नासाथ उनले फोनमा इन्टरभ्यु नदिने प्रतिक्रिया दिए र फोन काटे ।

निर्णय नम्बर ३ः सभागृह निर्माणको कार्यलाई प्राथमिकता राखी यथाशीघ्र कार्य अगाडि बढाउने ।

प्रगतिः हेटौंडा—४ स्थित हुप्रचौर बासुदेव सभागृह भत्काउने कार्य सुरु भएको छ । त्यहाँ मल्टीपर्पोज सपिङ कम्प्लेक्स भ्युटावर निर्माण गर्न लागिएको प्रशासकीय अधिकृत थापाले जानकारी गराए । जसमा ९४ करोडमा ठेक्का सम्झौता भएको र चाँडै शिलान्यास हुने सूचना अधिकारी थपलियाले बताए ।

निर्णय नम्बर ४ः हेटौंडा–१८ मा रहेको गुम्बाडाँडालाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने गुरुयोजना तयार पार्ने ।

प्रगतिः गुम्बाडाँडाका लागि गुरुयोजना तयार गरी काम भइरहेको वडाअध्यक्ष अनिल बानियाँले जानकारी गराए । पिकनिकस्पट बनाउने, पर्यटकीय पार्क कता बनाउने, ऐतिहासिक कुरालाई व्यवस्थापन गर्ने कार्य भइरहेको छ । गत आिर्थक वर्ष २०७७÷०७८ मा हेटौंडा उपमहानगरपालिकाले २५ लाख र वडाले २० लाख बजेट विनियोजन गरेका थिए । हाल उपभोक्ता समितिमार्फत् कार्य हुँदै आएको वडा अध्यक्ष बानियाँले जानकारी गराए ।

निर्णय नम्बर ५ः पुरानो खेलकुद कभर्डहललाई विस्थापन गरी व्यवस्थित गरी खेलकुद कभर्डहल निर्माण गर्ने ।

प्रगतिः हेटौंडा–४ मा मार्सलआर्टका सम्पूर्ण खेल खेलाउन मिल्ने प्यारापिटसहित कभर्डहल निर्माण कार्य सम्पन्न भइसकेको छ । हेटौंडा क्याम्पसअगाडिको जीर्ण कभर्डहल भत्काएर उक्त स्थानमा सुविधायुक्त कभर्डहल निर्माण भएको हो । हेटौंडा उपमहानगरपालिकाको लगानी तथा उपभोक्ताको लागत सहभागितासहित एक करोड ११ लाख ७२ हजार लागतमा निर्माणकार्य सम्पन्न भएको हो । कभर्डहल ५ कठ्ठा १६ धुरमा निर्माण भएको हो ।

निर्णय नम्बर ६ःअर्को निर्णय नभएसम्मका लागि प्लटिङ स्वीकृति बन्द गर्ने ।

प्रगतिः नेपाल सरकारले प्लटिङ कार्य रोक्नुअघि नै हेटौंडा उपमहानगरपालिकाले रोकेको थियो । खेतीयोग्य जमिनमा जथाभावी प्लटिङ र अधिक मात्रामा प्लटिङ हुने भएपछि नगरपालिकाले स्वीकृति दिएको छैन । यस अवधिबीच केही निर्णय भएर आवास स्वीकृति दिइएको थापाले जानकारी गराए । तर, आवासका नाममा हाल जग्गा व्यवसायीले अंशवण्डाका नाममा प्लाटिङ गर्दै आएको मालपोतका एक कर्मचारी नाम नबताउने शर्तमा बताउँछन् । उक्त निर्णयमा जति प्लटिङ हुन्थ्यो, हाल पनि उस्तै हुने गरेको तर, तरिकामात्र बदलिएको ती कर्मचारीले प्रतिक्रिया दिए ।

निर्णय नम्बर ७ःवडाहरुलाई व्यवस्थित बनाउन आफ्नो भवन नभएका वडामा घरभाडा लिएर सञ्चालन अनुमति दिने र आवश्यक फर्निचर खरिद गर्ने ।

प्रगतिः निर्णयबमोजिम यस वर्षदेखि नगरपालिकाले विशेषगरि वडा–१७, १४ र १२ मा वडा कार्यालय भवन निर्माणमा १ करोड बजेट विनियोजन गरेकोमा सबै भवन सम्पन्न भइसकेको थापाले जानकारी गराए । जिल्ला समन्वय समितिको सहयोगमा प्रारम्भिक कार्यहरु सुरु भएका थिए । हेटौंडा—११, ७, १० र १९ का कार्यालय भवन निर्माण प्रक्रियामा छन् । वडा–२, ५, ९ र १६ भाडामा छन् । सिधाखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*