हेटौँडा/ सरकारले आज (बुधबार) देखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्न सुरु गरेको छ । राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले ई–पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।
विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा सुरु हुने ई–पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको प्रवक्ता शरदराज आरणले जानकारी दिए । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन्। समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने भएकाले राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन्। ई–पासपोर्ट जारी भए तापनि तत्कालै ई–पासपोर्ट अनिवार्य नगरिने भएकाले आफूसँग भएको एमआरपीले नै काम चलाउन सकिने पनि विभागले जनाएको छ ।
राहदानी विभागले सन् २०२० को डिसेम्बर २० मा फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई–पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई(पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने थियो । विभागले लक्ष्यअनुसार नै समयमै काम सकेको हो । ई पासपोर्टमा राष्ट्रपतिको कार्यालय शितल निवासदेखि इलामको चिया बगानसम्मका तस्वीरहरू राखिएको जनाइएको छ ।






















