नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर अध्यक्षमा तीर्थ, कैलाश अध्यक्षमा बालकुमार सर्वसम्मत चयन

हेटौंडा टुडे
१४ मंसिर २०७८, मंगलवार १५:०२

हेटौँडा/ नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा तीर्थबहादुर थापा मगर र कैलाश गाउँपालिकाको अध्यक्षमा बालकुमार मल्ल सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न पालिकास्तरीय अधिवेशनबाट निर्वाचित सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने क्रममा सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

मंगलबार हेटौंडा–४, गर्दोईस्थित पार्टी कार्यालयमा नगर कमिटीका नवनिर्वाचित सदस्यहरुमध्येबाट थापालाई सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय भएको हो । यस्तै कोषाध्यक्षमा तारा मुक्तान कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार भएको नगर अधिवेशनबाट ७२ सदस्यीय नगर कमिटी चयन भएको थियो । नगर कमिटीका सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने कार्य जारी छ । नगर कमिटी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको नवनिर्वाचित अध्यक्ष तीर्थबहादुर थापा मगरले जानकारी दिनुभएको छ ।

नेकपा माओवादी केन्द्र कैलाश अध्यक्षमा बालकुमार मल्लसहित माओवादी नेता, कार्यकर्ताहरु ।

माओवादी केन्द्रको हेटौंडा उपमहानगर कमिटीमा कम्तिमा एकजना महिलासहित ३ जना उपाध्यक्ष, एकजना सचिव, एकजना सहसचिव चयनका लागि छलफल चलिरहेको थापाको भनाइ छ । नगर कमिटीमा ९ जना सदस्य मनोनित गरी ८१ सदस्यीय नगर कमिटी गठन हुने व्यवस्था पार्टीको विधानमा रहेको अध्यक्ष थापाले बताउनुभएको छ । हेटौंडा उपमहानगरसँगै सोमबार मकवानपुरको कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा पनि अधिवेशन भएको थियो ।

कैलाश गाउँपालिका कमिटीमा निर्वाचित ५५ जना सदस्यहरुमध्येबाट सोमबार नै बालकुमार मल्ललाई अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा ठाकुर सिं थिङ, लालसिं गुरुङ र डबल तामाङ, सचिवमा कमल अर्याल, सहसचिवमा रबिन्द्र थिङ र सुजाता फुयाल, कोषाध्यक्षमा सुस्मिता दोङ चयन हुनुभएको छ । मकवानपुरगढी गाउँपालिकाले भने पदाधिकारी चयनको कार्य मंसिर १७ गते गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*