आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन गरिदै

हेटौंडा टुडे
२०७८ मंसिर १७, शुक्रबार १०:०३ गते

हेटौँडा/ निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नामावली संकलन काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ । संकलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने र सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम निरन्तर रहनेछ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ । आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावली दर्ताको काम टुंग्याउने आयोगको तयारी छ । १२ माघमा राष्ट्रियसभाको चुनाव गर्ने तयारी छ ।

‘आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने साविकको व्यवस्था हुँदा हुँदै विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकलाई समेत सहज रूपमा मतदाता दर्ता प्रकृयामा सहभागी गराउन सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली संकलनको कार्य सुरु हुँदैछ,’ आयोगले भनेको छ ।

यसरी अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइनेछ । साथै निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।

विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । २० पुसभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन कार्य सम्पन्न भइसक्नेछ । ५ पुस २०७७ भित्र १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई समावेश गरी आयोगबाट ४ चैत २०७७ मा प्रकाशित सूचना अनुसार देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् । यो कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थप हुने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*