हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको प्रवक्ता वडा अध्यक्ष सविन न्यौपाने भएका छन् । शनिवार बसेको कार्यपालिका बैठकले न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
पूर्व पत्रकार समेत रहेका न्यौपाने हेटौंडा उपमहानगरपालिका – १ नम्बर वडाका वडा अध्यक्ष हुन् । उनी गत ३० वैशाख २०७९ मा भएको स्थानीय तह सदस्य निर्वाचनमा दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस अघि उपमहानगरपालिकामा जनप्रतिनिधिलाई प्रवक्ताको जिम्मेवारी दिइएको थिएन ।
न्यौपानेले प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने मूल्यांकन गर्दै नगर प्रमुख मिनाकुमारी लामाले उनको नाम अघि बढाइएकी हुन् । यसैगरी हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले हेटौंडा – १५ मा बिद्युतिय सवारी चार्ज गर्ने स्टेशन निर्माणको लागि जमिन दिने निर्णय गरेको छ ।
पुर्वपश्चिम राजमार्ग भएर गुड्ने बिद्युतिय सवारीलाई लक्षित गर्दै हेटौंडा– १५ को रातोमाटे लच्का नजिकै चार्जिङ स्टेशन निर्माणका लागि जमिन दिने निर्णय भएको हो । वडा कार्यालय, स्थानिय वासिन्दा, सामुदायीक वन उपभोक्ता समुहले जमिन दिनका लागि समस्या नभएको निर्णय पछि उपमहानगरको कार्यपालिका बैठकले स्टेशन निर्माणको लागि करिब ५ कठ्ठा जमिन दिने निर्णय कार्यपालिका बैठकले गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
कार्यपालिका बैठकले हेटौंडा–१२ पुर्ननवा आयुर्वेदिक अस्पताललाई पनि जग्गा दिने निर्णय गरेको छ । बैठले उपमहानगरको बिकट क्षेत्रमा रहेर शैक्षिक गुणस्तर बृद्धीमा लागेका शिक्षकलाई भत्ता दिने निर्णय गरेको छ । बैठक हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको थियो ।