मकवानपुरको महिलाहरुले पार्टीभन्दा माथी उठेर मलाई मत दिनुहुन्छ ; डिना

हेटौंडा टुडे
२७ कार्तिक २०७९, आईतवार ०८:३७

हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर–१ को उम्मेदवार नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरको सबै महिलाहरुको भोट आफूलाई आउने दावी गरेकी छिन् ।
शनिबार मकवानपुरका महिला पत्रकारहरुसँगको छलफलमा डिनाले यस्तो बताएकी हुन् । उनले आफूले महिलाहरुको सशक्तिकरण र अधिकारको लागि विगतमा खेलेको भुमिकाको कारण मकवानपुरको सबै महिलाहरुले आफूलाई भोट दिने दावी गरिन् । विगतमा महिला आन्दोलनको लागि संसदमा लडेको स्मरण गर्दै डिनाले संविधानमा महिलाको अधिकार सुनिश्चित गर्न आफूले पार्टीभन्दा माथी उठेर काम गरेको हुँदा मकवानपुरका महिलाहरुले पार्टीभन्दा माथी उठेर भोट दिने बताइन् । उनले अन्य पार्टीको महिला नेताहरुले समेत आफूलाई नै भोट दिने ठोकुवा गरिन् । ‘मलाई जिल्लाको अन्य पार्टीको महिला नेताहरुले गठबन्धन नै गरौ पनि भन्नु भएको थियो । तर,त्यस्तो नभएपनि मेरो निर्वाचन क्षेत्रको सबै महिलाहरुले मलाई नै भोट दिनुहुन्छ भन्ने मलाई पुर्ण विश्वास छ’,उनले भनिन् । डिनाले आफ्नो क्षेत्रका अन्य उम्मेदवारहरु एकअर्काको मात्रै प्रतिष्पर्धी रहेको भन्दै आफूसँगको प्रतिष्पर्धामा कोहि पनि नभएको बताइन् । उनले हेटौंडामा रहेको उद्योग कलकारखानालाई पुर्ण क्षमतामा सञ्चालन गरेर रोजगारीको सिर्जना गर्ने बताइन् । समानुपातिक भनेको महिलाको लागि मात्रै हो भन्ने सोचाई परिवर्तन गर्दै काम गर्नको लागि जनतासँगको साक्षत्कारमा आएको बताइन् । ‘मैले समानुपातिकमा पाएको टिकट छोडेर आएको हो । महिला भन्ने बितिक्कै समानुपातिकमा नै बस्नुपर्छ भन्ने सोचाईलाई चिर्दै जनताको माझमा बसेर काम गर्नको लागि म आएको हुँ’,उनले भनिन् । डिनाले महिलाको निर्वाचन क्षेत्र हुदैन भन्ने मानशिकता नेपालको राजनीतिको नेतृत्व तहमा रहेको भन्दै विगतमा आफू हार्छु भन्ने थाहा हुँदा हुँदै पनि निर्वाचन लडेको स्मरण गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*