हेटौडा–नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ । मंसिर ४ गते हुन लागेको आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष उम्मेदवार बन्ने महिलाहरुमध्येको एक हुन् । ‘डीना’ मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी छन् । उनको नाम मकवानपुरको लागिमात्रै होइन, नेपालकै राजनीतिमा एउटा स्थापित नाम हो । विद्यार्थी आन्दोलन होस् या महिला आन्दोलन, हरेक समयमा सशक्तरुपमा आफ्नो आवाज बुलन्द पार्ने गरेकी मकवानपुरे नेता डीना पहिलो जीतको खोजिमा यतिबेला चुनावी मैदानमा होमिएकी छन् ।
कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित उनले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापति उनले विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन् । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनी संविधानसभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन् । डीना यसअघि तीनपटक पराजित भइसकेकी छन् ।
पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट प्रत्यक्षरूपमा अनुमोदित हुन आएको उनी बताउँछिन् । सहजै समानुपातिकबाट सांसद् हुने निश्चित भएपनि जनताको बीचमा काम गरेर जनताबाट निर्वाचत हुन आएकोले आफ्नो जीत निश्चित रहेको उनी बताउँछिन् । नेपालको संविधान निर्माण र संविधानमा महिलाहरुको समावेशी सहभागिताको लागि महत्वपूर्ण भूमिका खेलेको कारण पनि आफूलाई जनताले मत दिएर अनुमोदित गर्ने उनी बताउँछिन् ।