निर्वाचन आयोगद्वारा नौ दिनभित्र मतगणना सम्पन्न गरिसक्ने

हेटौंडा टुडे
६ मंसिर २०७९, मंगलवार १५:३६

हेटौंडा| निर्वाचन आयोगले करिव नौ दिनभित्र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरूको मतगणना कार्य सो समयभित्र सम्पन्न गरिसक्ने योजना रहेको बताएका छन् ।

उनले बाजुरामा भने मानवीय क्षति भएकाले स्थिति सहज भएपछि त्यहाँको निर्वाचन अधिकृतसँग आवश्यक छलफल गरी मतदानको मिति तय हुनेसमेत स्पष्ट पारे । सहायक प्रवक्ता अर्यालले भने, ‘प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ दुवैको मतगणना जारी छ । प्रदेश सभाको पनि एकसाथ प्रत्यक्ष र समानुपातिकका मतगणना हुन्छ । हाम्रो राम्रोसँग सम्पन्न भएका र सही तरिकाले गणना प्रक्रिया अघि बढेका स्थानहरुको मत गणना आयोगले भनेजस्तै अवको ८/९ दिनमा सकिने अनुमान गर्न सक्छौँ ।

’मंसिर ४ गते देशभर एकैसाथ मतदान भएको थियो । त्यसमध्ये १५ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । हाल प्रतिनिधिसभाको १३८ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको र ४ स्थानमा मतपरिणाम आइसकेको पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए । हाल प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना भइरहेको छ ।

मतगणना रोकिएको कतिपय स्थानहरुमा भने राजनीतिक सहमती गरेर त्यहाँको मतगणना कार्य शुरु गर्ने आयोगका सहायक प्रवक्ता अर्यालले बताए । ‘देशभरिको गणनाको कुरा गर्दाखेरी अहिलेसम्म प्रविधि शाखामा प्रविष्ट भएको आधारमा १३८ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा गणना भईरहेको छ । कतिपय स्थानमा इन्टरनेटको गडबडीको कारणले मत परिणाम आउन सकेको छैन । यस हिसावले भन्दा केही बढि स्थानहरुमा पनि गणना भईरहेको हुन सक्छ । र, अहिलेसम्म ४ स्थानको मत परिणाम आईसकेको छ’, उनले भने, ‘अन्य कतिपय ठाउँहरुमा राजनीतिक दलहरुबीच सहमति गरेर मत गणनाको लागि मिति, स्थान र समय तोक्ने काम हुँदैछ । स्थगन भएको कतिपय ठाउँहरूमा मतगणना कार्य केही समय पर्खनुपर्नेछ । अरु ठाउँमा ठिक गतिका साथ गणना भइरहेको छ । ’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*