हेटौंडा|भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, बतासेमा बुधबार साँझ सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
बुधबार साँझ साढे ७ बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज १७६४ नम्बरको सुमो आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल खसी दुर्घटना हुँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा सुमो चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–३ बस्ने २३ वर्षीय बुद्ध रुम्बा, हेटौंडा–१८ का २४ वर्षीय ईसाख मोक्तान, कैलाश गाउँपालिका–९ बस्ने ३० वर्षीय भीमबहादुर मोक्तान, हेटौंडा–१८ का १८ वर्षीय सुमन घलान रहेका छन् ।
यसैगरी, बाराको जितनपुर गाउँपालिका–१० बस्ने २२ वर्षीय करण पटेल, २२ वर्षीय रामजित राउत, काठमाडौंका २५ वर्षीय बिमला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
उनका अनुसार, घाइतेमध्ये दुई जनाको भने हाल नाम, थर र वखत खुलेको छैन । घाइते उनीहरुको काठमाडौंको बल्खुस्थित अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।






















