हेटौंडा । यही असार ५ गतेबाट हेटौंडामा विजय यूथ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुरको विजय यूथ क्लवको आयोजनामा हुन लागेको दोस्रो संस्करणको गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
मकवानपुरमा क्रियाशिल क्लवले सहभागिता जनाउन पाउने यस प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा र नगद १० हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक विजय यूथ क्लवका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए ।
हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको लागि करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । खेलाडीहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना एवम् फुटबलको विकासका निम्ति प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष राजबाहकले बताए ।
१५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका क्लवहरु हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्के जोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव र हेटौंडा फुटबल एकेडेमी ‘ए’ गरी १६ टिम सहभागी छन् ।
प्रतियोगिताको लागि स्थानीय व्यक्ति तथा संघसंस्था सँगको सहयोगको याचना गरिएको आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गी, अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको आतिथ्यता थियो ।