हेटौंडा । आज मकवानपुरको मकवानपुरगढी गाउँपलिका वडा नम्बर – २ मा अबस्थित मकवानपुरगढी दरबार परिसरमा रहेको बंशगोपाल मन्दिरमा श्रीकृष्ण जन्माष्टमी मनाउनका लागि बिहानै देखि भक्त्तजनहरुको घुईचो लागेको छ । जन्माष्टमी मेलाका लागि दरवार परिसरमा केहि साता देखि सरसफाइ कार्य चल्दैआएको थियो । सरसफाई कार्यमा वडाध्यक्ष बखानसिं पाख्रिन सहित टोलि केहि दिन देखि दैनिक जुट्दै आउनु भएको थियो ।
कृष्ण जन्माष्टमीका दिन पूजा आजा सँगै मेला भर्न आउनेलाई लाइनको व्यवस्थापन, पानी लगायतको व्यवस्थाको तयारी समेत भइरहेको २ नबर वडाका वडाध्यक्ष बखानसिं पाख्रिनले जानकारी दिनु भयो । पछिल्लो समय गढीदरवारको रेखदेख र संरक्षणको कार्यको जिम्मा वडा २ कार्यालयले पाएको छ । मकवानपुर राज्यको दरबारको रूपमा रहेको मकवानपुरगढी दरबार क्षेत्रमा पछिल्लो वर्षहरुमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा विकास भइरहेको छ ।
यसैगरी आज बिहानै देखि मकवानपुरको एतिहासिक मकवानपुरगढी दरबार वंशगोपाल मन्दिरमा मकवानपुर सहित आसपासका जिल्लाबाट मेला भर्ना आउनेको विहानैदेखि दर्शनार्थीको भिड लागेको छ । आज मकवानपुरगढी दरबारसहित जिल्लाभरका कृष्ण मन्दिरमा पूजाआराधाना गर्ने भक्तहरुको घुइँचो लागेको हो ।