
हेटौडा । प्रथम मकवानपुरगढी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि सनराइज युथ क्लबले जित हात पारेको छ । मकवानपुरगढी गाउँपालिका वडा नं।२ स्थित कुर्लेमारको खेल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सनराइजले ९।५ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो । ९६ रनको लक्ष्य पछ्याएको भालुन्टारले १० ओभरमा ६ विकेट गुमाएर ६२ रनमा समेटियो । आइतरबार भएको फाइनल खेलमा वार्ड–२ भालुन्टारलाई ३३ रनले पराजित गर्दै सनराइज युथ क्लबले उपाधि जितेको हो । उपाधि विजेता सनराइजले नगद ३० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्रप्राप्त गरेको छ भने उपविजेता बनेको भालुन्टारले २० हजार प्राप्त गरेको छ ।
प्रतियोगिताका विजेता, उपविजेता र विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, मकवानपुरगढी वडा नं। २ का वडाध्यक्ष बखान सिं पाख्रिन, वडा नं। ७ का वडाध्यक्ष सुर्य बहादुर रुम्बा, लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगिता पालिका भित्रको खेलाडीहरुबीच प्रतिस्पर्धा गराइएको हो । मकवानपुरगढी गाउपालिकाको प्रायोजन तथा खेलकुद विकास समिति मकवानपुरगढीको आयोजना र मकवानपुरगढी क्रिकट क्लबको सहकार्य आयोजना भएको हो । प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको थियो ।

