मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

हेटौंडा टुडे
२०८२ असार १९, बिहीबार ११:३३ गते

हेटौंडा। नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि घरेलु टोली मलेसियाबाट ९१ रनको सामान्य लक्ष्य पाएको छ। मलेसियाको बायुमास ओभलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोलीलाई सस्तैमा समेटेको हो। पहिला ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा अलआउट भयो। मलेसियाका लागि मोहम्मद फतुलले सर्वाधिक ३८ रन बनाए। उनले ७१ बलको सामना गरे। कप्तान डिज पार्तोले ३२ बलमा १० रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि अभय यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। शुभम खनालले ३ विकेट हात पारे। कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १-१ विकेट लिए। यो सेमिफाइनल समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता मलेसियाबीच भएको हो। समूह चरणमा नेपालले आफ्ना सबै ४ खेल जितेर अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो। मलेसियाले भने ४ मध्ये ३ खेलमा जित निकालेको थियो। गत संस्करणको फाइनलमा नेपालले मलेसियालाई २ सय २१ रनको विशाल अन्तरले हराउँदै उपाधि जितेको थियो। यस खेलको विजेताले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेता हङकङ वा सिंगापुरसँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल जुलाई ५ (असार २१) मा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*