राक्सिराङ गाउँपालिकामा न्वागी पर्व मनाउन ३ दिन बिदा

हेटौंडा टुडे
२०८२ भाद्र १८, बुधबार १३:१७ गते

हेटौंडा । चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लले मंगलबार सूचना जारी गर्दै भदौ २१, २२ र २३ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने बताएका छन्।

अध्यक्ष राजकुमार मल्लले सूचनामार्फत बिदा घोषणा गर्दै पर्वका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हर्षोल्लासका साथ पर्व मनाउन आग्रह गरिएको छ ।  नेपालको बहुजातीय, बहुभाषिक, बहु–धार्मिक र बहुसांस्कृतिक पहिचानलाई मजबुत बनाउन यस्ता पर्वहरूले योगदान पुर्‍याउने भन्दै अध्यक्ष मल्लले चेपाङ समुदायसहित सम्पूर्ण राक्सिराङ्गवासी तथा देश–विदेशमा रहेका समुदायजनलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै तीन दिन सार्वजनिक बिदा दिइने निर्णय गरिएको बताएका छन्।

राक्सिराङ्ग गाउँपालिकाले विगतका वर्षहरूमा समेत प्राथमिकताका साथ न्वागी पर्वमा सार्वजनिक बिदा दिँदै आएको छ । यस गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ । न्वागी पर्वलाई चेपाङ समुदायले वर्षेनी नयाँ अन्न भगवानलाई अर्पण गरी हर्षोल्लासपूर्वक मनाउने परम्परा रहेको छ।

पर्वका अवसरमा घैयाँ धानको चामल, पिँडालु, निबुवा लगायत फलफूलले भूमिलाई पूजा गर्ने, पितृलाई चढाउने परम्परा रहिआएको छ । नयाँ अन्न पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक विश्वास चेपाङ समुदायमा रहिआएको छ । त्यसैका लागि झाक्री (पाण्दे)हरूले ढ्याङ्ग्रो ठटाउँदै कुखुराको बली दिने परम्परा छ । यस दिनलाई चेपाङहरूले ‘वारना’को रूपमा मनाउने गर्छन् ।

सो अवसरमा छरछिमेकी र नातागोता निम्त्याई सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने परम्परा रहेको छ । यही भदौ २२ गते न्वागी पर्वका दिन बागमती प्रदेश सरकारले चेपाङ समुदायको बसोबास रहेको चितवन, मकवानुर र धादिङमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारको वार्षिक क्यालेन्डरमै यस दिन तीन जिल्लामा सार्वजनिक बिदा दिइने उल्लेख गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*