हेटौंडा । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । योसँगै यस खेलमा युएईले पहिला बलिङ गर्ने भएको छ ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ । यस सिरिजमा नेपाल र युएई दुवै अमेरिकासँग हार बेहोरेका छन् । नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो ।
नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।
नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १७ खेलमा ५ जित र १० हारसहित नेपालको १२ अंक छ । त्यस्तै १७ खेल खेलेको युएईको केबल ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।






















