हेटौंडा । मकवानपुर जिल्लामा प्रहरीले अवैध रूपमा खेती गरिएको ठुलो परिमाणको गाँजा फँडानी गरी नष्ट गरेको छ ।
तीन दिनको अवधिमा परिचालित प्रहरी टोलीले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न क्षेत्रमा लगाइएको ३० बिघा १० कट्ठा जग्गाको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत कात्तिक १७ गतेदेखि २० गतेसम्म जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौँडाबाट खटिएका १०२ जना प्रहरीले गाँजा फँडानी गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार राक्सिराङ गाउँपालिकाको चिसापानी, बेलटार, टेम्टा, गोरेटार र देबुटार गाउँमा गाँजा नष्ट गरिएको हो ।
त्यसैगरी कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी र जोइटी क्षेत्र तथा भीमफेदी गाउँपालिकाको भदौरे, ज्यार्बु लगायतका क्षेत्रमा गाँजा फँडानी गरिएको छ । गत वर्षहरुझैँ मकवानपुरको कैलाश र राक्सिराङसहितका गाउँबस्तीमा गाँजा खेती गरिएको छ ।






















