निर्वाचन प्रहरीमा भर्ना हुनेले के–के पाउँछन् सुविधा, कति दिन खटिनुपर्छ?

हेटौंडा टुडे
२०८२ पुष २५, शुक्रबार ११:४० गते

हेटौंडा । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ ।

त्यसैगरी मकवानपुरमा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो। भर्नाका लागि आजबाट आवेदन खुल्ला गरिएको छ । भर्ना गरिने कुल संख्यामध्ये कम्तीमा ३३ प्रतिशत महिला रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि शुक्रबारदेखि आवेदन खुला गरिएको हो। इच्छुकले माघ १ गतेसम्म दर्खास्त दिन सक्नेछन्। प्रहरी कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बिदाका दिनमा पनि आवेदन लिइने उल्लेख गरिएको छ।

कति दिन खटिनुपर्छ ?

बिगतमा झै यस पटक पनि सरकारले १० दिन तालीम र ३० दिन फिल्डमा खटिने कार्यअवधि तोकेर निर्वाचन प्रहरी जनशक्ति व्यवस्थापन गर्न लागेको छ । यसबाहेक ‘नेपाल सरकारले तोकेबमोजिम’ हुने उल्लेख छ । कहिलेकाही तय भएको मितिमा निर्वाचन हुन नसकेमा, तोकिएको कार्यअवधिभन्दा बढीखटाउनुपर्ने भएमा वा अरु नै कारण देखिएमा कार्यअवधि थपघट हुन सक्छ । अहिलेको अनुमाति अवधि हेर्दा २१ मंसिरदेखि अघिको १ महिनासम्म फिल्ड र त्यसबाहेक १० दिन तालिम अवधि रहने गरी व्यवस्थापन गर्न लागिएको छ ।

निर्वाचन प्रहरीले के–कस्तो सुविधा पाउँछन् ?

कार्यअवधि तोकेर भर्ना गरिने निर्वाचन प्रहरीलाई प्रहरी/सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलवमान र लत्ताकपडा तथा जवान सरहको रासनभत्ता दिइने व्यवस्था ‘निर्वाचन प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ मा उल्लेख छ ।

जसअनुसार जवान सरहको आधारभूत तलवमान अनुसार हुन आउने रकमअनुसार एकजना निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलव, जिल्ला दररेट निर्धारण समितिले तोके अनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउमा जान र फर्किनलाई एक पटकका लागि प्रति व्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एक मुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोशाक भत्ता अनुसार एकसरो कपडाको खर्च उपलव्ध गराइने छ ।

यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ । निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भएमा घाइते स्वयं र मृत्य भएमा सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराइने छ ।

निर्वाचनअगावै तोकिएको स्थानमा नगई गैरहाजिर हुने, जिम्मेवारी पूरा नगरी भाग्नेलाई तोकिएका कुनै पनि सुविधा नदिइने पनि गृह मन्त्रालयबाट स्वीकृत मापदण्डमा उल्लेख छ । यस्तै कथम् निर्वाचन रद्द भएमा वा स्थगित भएमा तालिममा रहेको भए पनि नियुक्ति स्वतः रद्द/बदर हुनेछ ।

आवेदन दिन कस्ता छन् योग्यताका आधार ? भर्नामा कसलाई प्राथमिकता ?

गृह मन्त्रालयबाट स्वीकृत मापदण्डअनुसार नेपाली नागरिक भएको हुनुपर्ने छ । साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारिरीक र मानसकि रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, पुरुषको हकमा कम्तीमा ५ फिट उचाई, छातीको चौडा ३१ देखि ३३ इन्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाई, ४२ केजी तौल र गर्भवती नभएको/नरहेको हुनुपर्ने योग्यता तय गरिएको छ । यो योग्यता प्रहरी र सशस्त्रका जवानको भर्नामा निर्धारण गरिएका प्रावधान हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*