हेटौंडा । राष्ट्रिय सभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार निर्वाचन भएको छ। निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो ।
निर्वाचनमा गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसले ९, एमालेले ८ र जनता समाजवादी पार्टी नेपालले १ सिट पाएको छ ।
बागमती प्रदेशबाट नेपाली कांग्रेसका गिता देवकोटा र नेकपा एमालेका डाक्टर प्रेमप्रसाद दंगाल विजयी भएका छन् ।
महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभाबाट ६० मत प्राप्त गर्दै ३ हजार १ सय ८० मतभार हासिल गरिन्। स्थानीय तहबाट १६१ मतसहित ३ हजार ५९ मतभार पाएपछि उनले कुल ६ हजार २ सय ३९ मतभारसहित विजय हासिल गरिन्।
अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मत प्राप्त गरी ३ हजार १ सय २७ मतभार पाए। स्थानीय तहतर्फ १६२ मतसहित ३ हजार ७८ मतभार प्राप्त गरेपछि उनको कुल मतभार ६ हजार २ सय ५ पुगेको थियो।
महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५ सय २२ मतभार प्राप्त गरिन् भने नेमकिपाकी कविता महर्जनले १ सय ९७ मतभार पाइन्। अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५ सय ४१ मतभार तथा नेमकिपाका विक्रम ढुकुछुले १ सय ९७ मतभार प्राप्त गरे।
बागमती प्रदेश सभाका ८९ जना प्रदेश सभा सदस्य र स्थानीय तहका २२९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३१८ मतदाताले मतदानमा सहभागिता जनाएका थिए। प्रदेश सभातर्फ ४ हजार ७ सय १७ मतभार र स्थानीय तहतर्फ ४ हजार ३ सय ५१ मतभार खसेको थियो। कुल खसेको मत
प्रत्येक प्रदेशमा भएको मतदानपछि निर्वाचन आयोगले सबै उम्मेदवार मतपरिणाम सार्वजनिक गरेको हो ।

























