चितवन- ३ मा रेणु र सोबिताको रोचक भिडन्त, कसले मार्ला बाजी ?

हेटौंडा टुडे
२०८२ माघ १९, सोमबार १५:५८ गते

हेटौंडा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चर्चित तथा प्रभावशाली नेतृ भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम एउटै निर्वाचन क्षेत्रमा आमनेसामने भएपछि चुनावी प्रतिस्पर्धा झन् रोचक बन्ने देखिएको हो ।

हुन त चितवन–३ मा रेणु र सोविता मात्र होइन, ६ स्वतन्त्रसहित १८ जनाको मनोनयन दर्ता भएको छ । रेनु, सोवितासँगै नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, नेकपा एमालेबाट शंकर थपलिया, राप्रपाबाट दीपक थापालगायतका उमेदवारले मनोनयन दर्ता गरेका छन् ।

चितवनको ३ नम्बर क्षेत्रमा माडी नगरपालिकाका नौं वटा वडा र भरतपुर महानगरपालिकाका ६, ८ र ९ तथा १३ देखि २८ नम्बर वडाहरू समावेश गरिएको छ ।

चितवन-३ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ५५ हजार ३०९ रहेको छ । यस क्षेत्रमा  निर्वाचनमा १७४ मतदान केन्द्र तोकिएको छ ।

यतिखेर उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन्।

 उम्मेदवार

यस क्षेत्रमा भरतपुर महानगरकी प्रमुख रहेकी रेणु दाहालले राजीनामा दिएर नेकपाबाट उम्मेदवार बनेकी छन् । दुई कार्यक्रम महानगरको प्रमुख भएर काम गरेको आधारमा उनले संसदीय निर्वाचनमा मैदानमा उत्रिएकी छन् । त्यस्तै रास्वपाकी चर्चित नेतृ सोबिता गौतमको उम्मेदवारीले पनि यस क्षेत्रलाई चर्चामा ल्याएको छ । यस क्षेत्रमा रेणु र सोबिताको चर्चा भईरहदा काँग्रेसले टेक प्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले शंकरराज थपलियालाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाले दीपक थापा मगरलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा सबै गरेर २३ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

अघिल्लो चुनाव भन्दा यस पटक चितवन-३ को चुनावी अंक गणित धेरै बदलिएको छ । देशभर रास्वपाको लहर देखिदा त्यसको फाइदा यस क्षेत्रमा पनि हुने देखिन्छ । नेकपाबाट रेणु दाहालले आफ्नो महानगरमा गरेको कामको आधारमा मत मागिरहेकी छन् । राप्रपाबाट अन्तिम समयमा विक्रम पाण्डे पछि हटेपछि राप्रपा तुलनात्मक रुपमा कमजोर नै देखिएको छ । यस क्षेत्रमा रेणु र सोबिताको प्रतिष्पर्धाको फाइदा काँग्रेसलाई हुनसक्ने पनि देखिन्छ । यसरी हेर्दा यस क्षेत्रमा नेकपा, रास्वपा र काँग्रेसबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने नै देखिन्छ ।

त्यसैगरी, यो चुनावमा निर्णायक तत्व मतदाताको मनोविज्ञान पनि हो । यदि मतदाता विकास र पहुँचलाई प्राथमिकता दिन्छन् भने रेणुको सम्भावना बलियो देखिन्छ । यदि परिवर्तन र नयाँ नेतृत्वको चाहना निर्णायक बन्यो भने सोविता भारी पर्न सक्छिन् ।

समग्रमा हेर्दा चितवन–३ को निर्वाचन केवल एक सिटको प्रतिस्पर्धा होइन, बदलिँदो राजनीतिक चेतना र मतदाताको प्राथमिकताको परीक्षण पनि हो । त्यसैले चितवन–३ को यो प्रतिस्पर्धा कुनै एक उम्मेदवारको जित–हारमा मात्र सीमित हुनेछैन ।

अनुभवी र सत्तासँग जोडिएको नेतृत्वका रूपमा रेणु दाहाल र परिवर्तन तथा वैकल्पिक राजनीतिका प्रतीकका रूपमा सोविता गौतम आमनेसामने हुँदा चुनावी समीकरण झन् रोचक बनेको छ । एकातिर संगठन, पहुँच र राज्यसत्ताको प्रभाव छ भने अर्कोतिर युवा मतदाता, असन्तुष्टि र नयाँ राजनीतिक संस्कारको अपेक्षा देखिन्छ ।

यो निर्वाचनले विकासको निरन्तरता र नयाँ राजनीतिक संस्कारबीच मतदाताको प्राथमिकता कहाँ उभिएको छ भन्ने प्रश्नको जवाफ खोज्दैछ । अनुभवी, सत्तासँग जोडिएको नेतृत्व रोज्ने कि पुराना दलप्रतिको असन्तुष्टिलाई मतमार्फत अभिव्यक्त गर्ने– त्यसको फैसला फागुन २१ को मतदानले गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*