हेटौंडा । चितवनको इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, केबलकार गेटअगाडि मंगलबार (माघ २०) बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो ।
गोरखाको सहिद लखन गाउँपालिका–२ का अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले परियारलाई आज बिहान ठक्कर दिएको थियो । घाइते परियारलाई उपचारका निम्ति भरतपुर लगिएकामा १०ः२७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
कैलाली लम्कीचुवा नगरपालिका–१२ का ४२ वर्षीय चालक सुभाष विश्वकर्मा र बसलाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।






















