हेटौंडामा निर्वाचन प्रहरीको भूमिकाको सम्बन्धमा नमुना अभ्यास

हेटौंडा टुडे
२०८२ माघ २९, बिहीबार ११:३७ गते

हेटौंडा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तालिम प्राप्त निर्वाचन प्रहरीको भूमिकाको सम्बन्धमा नमुना अभ्यास (डेमो) गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय मार्फत तालिम लिएका निर्वाचन प्रहरीको तालिम समापन, नमुना अभ्यास तथा अन्तरक्रिया कार्यक्रम हेटौंडा–४ हुप्रचौरमा सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वाचनका समयमा निर्वाचन प्रहरी कसरी परिचालित हुने भन्ने विषयमा भूमिका सहित नमुना मतदान केन्द्र निर्माण गरी अभ्यास समेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले ४० दिनको अवधिलाई अवसरका रूपमा लिएर सेवा गर्न आग्रह गर्नुभयो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्न आग्रह गर्दै उहाँले निर्वाचन प्रहरीको मुख्य दायित्व मतदातालाई भयमुक्त वातावरणमा मतदान प्रक्रियामा सहभागी गराउनु रहेको उल्लेख गर्नुभयो । निर्वाचन प्रहरीको सुरक्षाको जिम्मेवारी राज्यको भएको भन्दै ढुक्क भएर कर्तव्य पालन गर्न उहाँले अनुरोध गर्नुभयो । उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरीलाई सम्मान गरिने पनि उहाँले बताउनुभयो । निर्वाचनमा खटिने निर्वाचन प्रहरीले समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था रहेको जानकारी गराउँदै उहाँले दल विशेषको प्रचार–प्रसार भने गर्न नपाइने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश निर्वाचन अधिकारी हरि ढकालले निर्वाचन प्रहरीको व्यवहारले मतदान केन्द्रमा खटिने सबैको प्रतिनिधित्व गर्ने भएकाले विनम्र र जिम्मेवार भएर कर्तव्य पालन गर्न आग्रह गर्नुभयो । समय कम भए पनि उच्च मनोबलका साथ तोकिएको आचारसंहिता भित्र रहेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । मतदानमा खटिने कर्मचारी र निर्वाचन प्रहरीको दायित्व समान हुने उल्लेख गर्दै जिम्मेवारी बोधका साथ कार्य गर्न उहाँले आग्रह गर्नुभयो । निर्वाचन प्रहरीलाई तलब बाहेक तीन दिनको भत्ता पनि उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।
मकवानपुरमा निर्वाचनका लागि नेपाल प्रहरीतर्फ १ हजार ९ सय २३ जना र सशस्त्र प्रहरीतर्फ १ सय ७९ जना गरी कुल २ हजार १ सय २ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । उनीहरूलाई जिल्लाका १० स्थानमा १० दिने तालिम दिइएको थियो । तालिममा सुरक्षाकर्मीको भूमिका, आचारसंहिता तथा अनुशासन सम्बन्धी विषयमा प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । माघ १८ गतेदेखि माघ २७ गतेसम्म आधारभूत तालिम लिएका निर्वाचन प्रहरीलाई घरपायक पर्ने गरी बुधबारदेखि नै कार्यक्षेत्रमा परिचालन गरिने बताइएको छ । ४० दिनका लागि भर्ना गरिएका उनीहरूले प्रहरी जवान सरह तलब तथा राशन सुविधा पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*