बागमती प्रदेशका १३ जिल्ला, ३३ निर्वाचन क्षेत्रःकसको प्रक्षेपण कति ?

हेटौंडा टुडे
२०८२ फाल्गुन ४, सोमबार १२:५५ गते

हेटौंडा ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको नजिकिँदै गर्दा देशको संघीय राजधानी भएको बागमती प्रदेशलाई दलहरूले प्रतिष्ठाको क्षेत्र बनाएर चुनावी प्रचार तीव्र पारेका छन् । देशभरका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये ३३ क्षेत्र बागमतीमा मात्र पर्ने भएकाले यहाँको परिणामले राष्ट्रिय सत्ता समीकरण नै बदल्ने क्षमता राख्छ ।

राजधानी काठमाडौं रहेको सबैभन्दा बढी मतदाता रहेको र राजनीतिक प्रतिस्पर्धा अत्यधिक रहेको यस प्रदेशमा यसपटकको चुनाव परिणाम विगतको भन्दा भिन्न हुन सक्ने संकेतहरू देखिन थालेका छन्।

बागमतीबाट दलका ५ सय र २ सय ३१ स्वतन्त्र गरी ७ सय ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये भक्तपुर बाहेकका अधिकांश क्षेत्रमा राजनीतिक दलका उम्मेदवार नै अग्रभागमा देखिन्छन् ।  जसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका उम्मेदवार चुनावी मैदानमा देखिन्छन् ।

बिगतको चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालिन माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रदेशमा चुनावब जितेका थिए ।
काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा रास्वपाको माहोल अझै राम्रो नबनेको अवस्थामा बालेनले ल्याएको देशव्यापी लहर र रवि लामिछानेको अभियानले बागमतीका अन्य १० जिल्लाका १८ क्षेत्रमा रास्वपाको ठुलो माहोल भने आएको छैन ।

राजधानीका काठमाडौँ, ललितपुर र भक्तपुरलाई छोड्ने हो भने बागमती प्रदेशका १० जिल्लामा १८ निर्वाचन क्षेत्र छन्। चितवनमा ३, मकवानपुर, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेमा २–२ वटा निर्वाचन क्षेत्र छन् भने दोलखा, रामेछाप र रसुवामा १–१ छन् ।

२०७९ मा भएको प्रतिनिधि सभाको चुनावमा १८ क्षेत्रमध्ये रामेछाप, सिन्धुली १, रसुवा, नुवाकोट २, धादिङ २ र सिन्धुपाल्चोक २ गरी ६ वटा सिट जितेर कांग्रेस पहिलो दल बनेको थियो। उसलाई माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनको साथ थियो। नेकपा एमालेले मकवानपुर २ मा र काभ्रे २ जितेको थियो।

उता तत्कालीन माओवादी केन्द्रले सिन्धुली २, दोलखा, काभ्रे १, नुवाकोट १, सिन्धुपाल्चोक १ जितेको थियो। यस्तै, नेकपा एकीकृत समाजवादीले धादिङ १ जितेको थियो। अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लगायतबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ।

२०७४ मा बागमती प्रदेशबाट २० वटा सीट जितेर पहिलो दल बनेको एमाले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ४ सीटमा खुम्चिएको थियो । यो पटक पनि एमाले सरकारमा रहँदा भदौ २३ र २४ को जेन-जी आन्दोलन भएका कारण एमालेमाथि प्रश्न कायमै छ । तर, एमालेको आन्तरिक विश्लेषण भने अर्कै छ । अहिले परीवेश फेरीएर रास्वपा तिर सबैको ध्यान केन्द्रित गराएको पनि स्पष्ट देखिन्छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ र २ जित्दा राप्रपाले चितवन ३ र मकवानपुर १ जितेको थियो। बागमती प्रदेशका यी १० जिल्लामा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो।

यी १० जिल्लामा अहिले नयाँ थपिएका समेत गर्दा २४ लाख ९१ हजार ३२३ मतदाता छन्। त्यति मात्र होइन, कांग्रेस नयाँ नेतृत्व चुनेर चुनावमा गएको छ। नेकपाले एकीकृत समाजवादीलगायतसँग एकता गरेको छ।

यस्तै, काठमाडौँ महानगरमा सबै दललाई चकित पार्दै मेयर निर्वाचित भएका बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर रास्वपा चुनावमा होमिएको छ। बालेन्द्रले देशव्यापी चुनावी रोड सो गरिरहेका छन्। बागमतीका केही क्षेत्रमा पनि उनी पुगेका छन्।

यसपटक कुनै दलबीच गठबन्धन छैन। त्यसो हुँदा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच नै प्रतिस्पर्धा हुने देखिन्छ।

विभिन्न दलबाट रास्वपाको संगठन आधार नभएको र बाहिर भिड मात्र रहेको प्रचार भइरहेको छ। यही बेला रास्वपा चुनाव जित्ने रणनीति बनाएर मतदातासम्म पुगिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*