रास्वपा सरकार बन्यो भने २०४६ पछिका सबै काण्ड छानबिन गर्नेछ : रवि लामिछाने

हेटौंडा टुडे
२०८२ फाल्गुन १२, मंगलवार १२:४४ गते

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले रास्वपाको सरकार बनेपछि २०४६ सालपछिका सबै काण्डहरुको छानबिन गर्ने बताएका छन्।

सोमबार हेटौंडामा चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि बन्ने रास्वपा सरकारले सबै काण्डहरूको छानबिन गर्ने बताएका हुन्। जसका लागि देशभरबाट रास्वपाका उम्मेदवार जिताउन पर्ने बताउँदै उनले निर्वाचनमा सही निर्णय गर्न आग्रह गरे।

‘देशमा भएका ठूला भष्ट्राचारहरूको फाइल खोल्न रास्वपाको सरकार बन्नुपर्छ,’ उनले भने, ‘त्यसकारण निर्णय र फैसला गर्ने दिन फागुन २१ गते नै हो। तपाईंहरूले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्ने हो। रास्वपा सरकारले निष्पक्ष रुपमा छानबिन गर्छ।’

जेन–जी आन्दोलनको क्रममा तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा जलेको पैसा अकाट्य प्रमाण भएको उल्लेख गर्दै त्यसको स्रोत खोज्न अनुसन्धान आवश्यक हुने बताए।

‘रास्वपाले प्रतिशोध गर्दैन, तर कानुनी राज्य स्थापना गर्छ,’ उनले थपे, ‘त्यो पैसाको स्रोत के हो? त्यो खोज्नका लागि अनुसन्धान चाहिन्छ। तर त्यो पैसा जलेको कुरा एआई होइन। सत्य हो। त्यो अकाट्य प्रमाण हो। कुनै अनुसन्धानको आवश्यकता पर्दैन। रास्वपाको सरकार बन्न दिनोस् हामी छानबिन गर्छौँ।’

उनले फागुन २१ गतेको चुनावलाई ‘महाभारत’सँग तुलना गर्दै मतदातालाई स्पष्ट भएर कौरव र पाण्डवमध्ये एकलाई छनोट गर्न आह्वान गरे । ‘अहिलेको चुनाव एउटा महाभारत नै हो । तपाईँ कौरव पक्ष कि पाण्डव पक्ष रु हामी को हौँ भनेर हामी भन्दैनौँ, त्यो तपाईँले नै भन्ने हो,’ उनले जनतालाई स्पष्ट हुन आव्हान गरे ।

उनले नबिराएकालाई नडराउन आग्रह गर्दै बिराएकोलाई नछोड्ने चेतावनी दिए । ‘जसले बिराएको छैन, उसले डराउनु पर्दैन,’ उनले भने, ‘जसले बिराएको छ, त्यसलाई हामी छोड्दैनौ । किन कि सुशासन हाम्रो पहिलो प्राथमिकता हो ।’

आगामी दिनमा शिक्षकहरूलाई राजनीतिक दलको भोट बैंक बन्न नदिने उनले स्पष्ट पारे । उनले रास्वपाको सरकार आएपछि संगठनको नाममा भोट बैंक बनाउने प्रवृत्तिको अन्त्य गरिने दावी गरे । शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्ने बताउँदै उनले शिक्षा नीति विद्यार्थीको हितमा बन्नुपर्नेमा जोड दिए । त्यो जिम्मेवारी रास्वपा सरकारले लिने उको भनाई थियो ।

यस्तै उनले आफ्नो पार्टीको सरकार बनेपछि किसानलाई मल, बीउ र बजारको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए । सम्बोधनका क्रममा सभापति लामिछानेले हेटौँडा सिमेन्ट उद्योग को सन्दर्भ उठाउँदै उद्योगहरूलाई राजनीतिक भर्ती केन्द्र बनाइँदा समस्या भएको दाबी गरे । ‘योग्य र क्षमतावान नेतृत्व आए उद्योग नाफामा जान्छ् र त्यो काम रास्वपा सरकारले गर्छ’ उनले भने ।

मागेर धनी हुने सपना आफुहरुले नदेको दावी गर्दै उनले गरेर खाने देश बनाउनका लागि सिंगो रास्वपा लागिपरेका बताए । यसका लागि उनले युवा, महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व बोकेको रास्वपाको चुनाव चिह्न घण्टीमा मतदान गर्न आग्रह पनि गरे ।कार्यक्रममा रास्वपाकातर्फबाट समानुपातिक उम्मेदवार रमेश प्रसाईँ, मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाश गौतम, २ का प्रशान्त गौतम लगाएतले रास्वपालाई आगामी निर्वाचनबाट पहिलो पार्टी बनाउन मतदाताहरुसँग आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*