देशभर पानी-हिमपात र हुरीको मिश्रित प्रभाव, आज पनि हावाहुरी चल्ने सम्भावना

हेटौंडा टुडे
२०८२ चैत्र ३, मंगलवार ११:०२ गते

हेटौंडा। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिँदा मौसम आंशिक रूपमा बदलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि मौसम अझ सक्रिय बन्ने संकेत छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बदली बढ्नेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ।

कोसी, बागमती र गण्डकीका हिमाली भूभागमा छिटपुट मेघगर्जनसहित वर्षा वा हिमपात हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही हिमाली स्थानमा पनि यस्तै अवस्था देखिन सक्छ। कोसी र गण्डकीका पहाडी क्षेत्रमा असिनासहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

केही स्थानमा आज पनि हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज अपराह्नपछि हावाहुरी चल्ने प्रक्षेपण गरेको हो ।

रातिको समयमा गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा बादल रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ।

हिमाली क्षेत्रमा राति पनि मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ। काठमाडौं उपत्यकामा भने आज वर्षाको सम्भावना कम रहेको मौसमविद् रोजन लामिछानेले बताएका छन्। उनका अनुसार यदि वर्षा भयो भने पनि अपराह्नपछि वा साँझपख मेघगर्जनसहित छिटपुट वर्षा हुन सक्छ।

उनका अनुुसार,’आजको वर्षाको सम्भावना हिजोभन्दा कमजोर देखिएको छ ।’ समग्रमा आजको मौसम आंशिक रूपमा सक्रिय रहने देखिएको छ। केही स्थानमा हल्का वर्षा, हिमपात तथा हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*