हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ। आइतबारदेखि यो रिटमाथि सर्वोच्च अदालतमा नियमित सुनुवाइ सुरू भएको हो।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा यो रिटमाथि सुनुवाइ हुँदै आएको छ। आइतबार र सोमबार बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो। यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको संयुक्त इजलासले नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेविरुद्ध यसअघिको सरकारका पालामा लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध लगाइएको अभियोग संशोधनको निर्णय गरेकी थिइन्।

















