हेटौंडा। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि यातायात व्यवसायीहरुले सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न सरकारसँग माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गाडी सञ्चालन खर्च बढेको भन्दै भाडा तत्काल समायोजन गर्न आग्रह गरेको हो।
यसअघि नेपाल आयल निगम ले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको थियो। महासङ्घले आयल निगमभित्र हुने आन्तरिक चुहावट नियन्त्रण गर्न, पेट्रोलियम पदार्थको खपत व्यवस्थापन गर्न र वैज्ञानिक विधि अपनाएर इन्धनको सहज आपूर्ति व्यवस्था मिलाउन पनि नेपाल सरकारसँग माग गरेको छ।
लामो समयदेखि ‘वैज्ञानिक भाडादर’ अनुसार समायोजन नभएको भन्दै व्यवसायीहरूले माग बढाएपछि यातायात व्यवस्था विभाग सक्रिय भएको हो। केही दिनमै भाडा समायोजनको प्रक्रिया टुंगिने संकेत दिइएको छ।
सेयर गर्नुहोस्

















