इरानले कतारमा फेरि हान्यो क्षेप्यास्त्र

हेटौंडा टुडे
२०८२ चैत्र ५, बिहीबार ११:४२ गते

हेटौंडा । इरानले कतारको रास लाफानमा रहेको ऊर्जा परिसरमा फेरि क्षेप्यास्त्र प्रहार गरेको छ। कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीले बिहीबार बिहान मुख्य ग्यास क्षेत्रमा रकेट प्रहार गरिएको पुष्टि गरेको छ।

कतारका अनुसार आक्रमणपछि आगो लागेको छ र ठुलो मात्रामा क्षति भएको छ। तर कोही पनि घाइते भएका छैनन्।  यसअघि बुधबार पनि इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा आक्रमण गरेको थियो। जसबाट त्यहाँ ठुलो क्षति भएको छ।

बुधबार आफ्नो देशमा रहेको विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्समा इजरायलले आक्रमण गरेपछि जवाफमा इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा हमला गरिरहेको हो।

रोयटर्सका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी तिमीलाई फेरि एकपटक चेतावनी दिन्छौँ- इस्लामिक गणतन्त्रको ऊर्जा पूर्वाधारमा आक्रमण गरेर गम्भीर गल्ती गरेका छौ। यदि यो दोहोरियो भने तिम्रा र तिम्रा सहयोगीका ऊर्जा पूर्वाधार पूर्ण रूपमा नष्ट नभएसम्म आक्रमण रोकिने छैन।’

आईआरजीसीसँग सम्बद्ध समाचार एजेन्सी ‘तस्निम’का अनुसार बुधबार इजरायलले इरानको साउथ पार्स ग्यास फिल्डमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा इजरायलले हवाई आक्रमण गरेको थियो।

साउथ पार्स विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास फिल्ड हो, जहाँ इरान र कतारले आआफ्ना प्लान्ट सञ्चालन गर्छन्।

बीबीसी फारसीका अनुसार असालुयेहका गभर्नर इस्कन्दर पासालरले भने, ‘शत्रुको आक्रमणले साउथ पार्सका धेरै भागमा असर गरेको छ।’

रिपोर्टअनुसार आक्रमणपछि कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। होर्मुज स्ट्रेटबाट ढुवानी लगभग बन्द हुनुभन्दा अघि नै बढेको तेलको मूल्य बिहीबार झन् उकालो लागेको छ।

अमेरिकी कच्चा तेलको मुख्य सूचकांक ३ प्रतिशतभन्दा माथि पुगेको छ। कतारको सबैभन्दा ठुलो ऊर्जा प्लान्टमा क्षेप्यास्त्र आक्रमण भएपछि रास लाफानको क्षेत्र खाली गराइएको छ।

इरानले कतारमा फेरि हान्यो क्षेप्यास्त्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*