हेटौंडा । देशका विभिन्न ठाउँमा शुक्रबार र शनिबार ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेको छ । आज दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विशेष गरी लुम्बिनी र कोशी प्रदेशमा प्रतिघण्टा ११९ किलोमिटर सम्मको तीव्र वेगमा हावाहुरी चल्ने सम्भावना रहेकाले विभागले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा बदली रहेको छ। केही स्थानमा अहिले नै हल्का वर्षा र हिमपात सुरु भइसकेको छ।
आज दिउँसोदेखि कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाे छ। लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्ज सहितका तराईका जिल्लाहरू र शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा विनाशकारी हावाहुरी चल्ने सम्भावना छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचनाका छाना उड्ने र विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै मौसम बदलीसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ।


















