अब विद्यालयको पाठ्यक्रममै खेलकुद समेटिने

हेटौंडा टुडे
२०८२ चैत्र १७, मंगलवार १५:२५ गते

हेटौंडा।  शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको जग बलियो बनाउन खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने घोषणा गरेका छन्। मङ्गलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निरीक्षणका क्रममा उनले यस्तो महत्त्वाकाङ्क्षी योजना अघि सारेका हुन्।

खेलकुद परिषदका सदस्यसचिव र बोर्ड सदस्यले स्वागत गरेपछि आफ्नो संक्षिप्त मन्तव्य दिएका पोखरेलले विद्यायल शिक्षाको ग्रासरुटदेखि नै खेलकुदको विकास गर्ने बताएका छन्।

यसअघि काठमाडौं महानगरपालिकाको शिक्षा क्षेत्रमा विज्ञ भएर काम गरेका पोखरेलले राष्ट्रिय खेलकुद परिषदमा राखेको धारणा यस्तो छ :-

हामीले काठमाडौँ महानगरपालिकामा हुँदा ‘रचनात्मक विद्यालय’ भन्ने एउटा कार्यक्रम सुरु गरेका थियौँ, जसको दीर्घकालीन लक्ष्य ग्रासरुटमा खेलकुद विकासलाई जोड्नु थियो। नेपालको तथ्याङ्क हेर्दा ९८ प्रतिशत बालबालिकाहरू विद्यालयमा हुने भएकाले यो क्षेत्र सिधै ग्रासरुटसँग जोडिएको छ।

अहिलेको मुख्य समस्या भनेको हामीले सानो उमेरबाट खेलाडी उत्पादन गर्न सकिरहेका छैनौँ । अहिले नेपालको खेलकुद इन्डस्ट्रीमा नेपाल प्रहरी, सेना र एपीएफका खेलाडीहरू धेरै देखिन्छन् किनभने त्यहाँ राम्रो डाइट, ट्रेनिङ र नियमित आम्दानीको व्यवस्था छ। तर ती निकायहरूमा एउटा निश्चित उमेर पुगेपछि मात्र प्रवेश पाइन्छ।

यदि १८ वर्ष पुगेर ट्रेनिङ र डाइट पाउँदा त त्यो क्षेत्र डोमिनेट हुन्छ भने, सानै उमेरबाट त्यस्तो सुविधा दिँदा झन् विकास गर्न सजिलो हुन्छ भन्ने हाम्रो बुझाइ हो।  हामीले खेलकुद परिषदका विभिन्न संघका पदाधिकारीहरूसँग छलफल गरी १६ वटा खेलहरूलाई पहिलो चरणमा सर्टलिस्ट गरेर कोचहरू मार्फत स्क्रिनिङ र ट्रेनिङको प्रक्रिया अगाडि बढाएका थियौ। हाम्रो योजना शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सँग मिलेर खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने थियो। पहिले केही नीति र कानुनका कारण पाठ्यक्रममा जोड्न नसके पनि अहिले हामी आफैँ नीति निर्माण र कानुन बनाउने तहमा भएकाले अबको ५ वर्षमा खेल क्षेत्रलाई सिधै ग्रासरुटसँग जोडेर दीर्घकालीन रूपमा खेलाडी विकास गर्ने हाम्रो लक्ष्य छ।

हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा काम गर्नुपर्छ र यसका लागि हामीसँग सचिवालयका साथीहरू, बोर्डका सदस्यहरू र विज्ञ माननीयज्यूसँग काम गर्नेछौं।  हामी कसैको पनि विगत वा पूर्वग्रह नराखी सबैको विज्ञता र विशेषज्ञताको कदर गर्दै एउटा टिम भएर काम गर्न चाहन्छौँ। यहाँ उपस्थित कर्मचारीदेखि बोर्ड सदस्यसम्म सबै हाम्रो टिमका सदस्य हुनुहुन्छ।

खेलकुदलाई शिक्षासँग जोड्नुपर्ने अर्को कारण भनेको अहिलेका युवाहरूमा देखिएको मानसिक स्वास्थ्यका समस्याहरू हुन्। खेलले मानिसलाई जित्न मात्र होइन, हार्न र त्यो हारलाई स्वीकार गर्न पनि सिकाउँछ। अहिलेका विद्यार्थीहरूमा हारलाई कसरी स्वीकार गर्ने भन्ने क्षमताको कमी देखिन्छ, जुन खेलकुदले सिकाउन सक्छ।

जित्दा र हार्दा कस्तो व्यवहार गर्ने भन्ने कुराले मानसिक र शारीरिक स्वास्थ्य दुवैमा सकारात्मक असर पार्छ। म आफूलाई बोर्डको अध्यक्ष, प्रतिनिधि सभाको सदस्य वा मन्त्रीका रूपमा भन्दा पनि एउटा टिम मेम्बरका रूपमा देख्छु। हामी सबै मिलेर एउटा टिम बनेर यो खेल क्षेत्रलाई दीर्घकालीन रूपमा विकास गर्न जरुरी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*