हेटौंडामा भएको सडक दुर्घटनामा एकजना किशोरीको मृत्यु

हेटौंडा टुडे
२०८२ चैत्र १८, बुधबार १३:५५ गते

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित गुम्बाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई अनियन्त्रित हुँदा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत हेटौंडा–९ की २० वर्षीया एकता बैद्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आज बिहान ११:२५ बजेको समयमा हेटौंडाबाट जाँदै गरेको प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम सडकखण्डमा एकापसमा ठक्कर खाएएकोे थियो।

ठक्कर लगत्तै ७६८३ नम्बरको मोटरसाइकलको पछाडि सवार हेटौंडा–९ की २० वर्षीया एकता बैद्य अनियन्त्रित भई सोही दिशामा सिमेन्ट लोड गरेर वीरगञ्ज जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा ठोक्किन पुगेकि थिईन्। ​ट्रकमा ठोक्किएर टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेकी बैद्यलाई तत्काल उपचारका लागि  हेटौंडा अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएको केही समयपछि दिउँसो १२:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा परी ७६८३ नम्बरको मोटरसाइकलका चालक हेटौंडा  –४ बस्ने १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् भने अर्को मोटरसाइकलका चालक चितवनको इच्छाकामना–५ का २१ वर्षीय पुष्पालाल गुरुङ मध्यम घाइते भएका छन् ।
घाइते दुवैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

​प्रहरीले दुर्घटनामा संलग्न तीनवटै सवारी साधन र ट्रक चालक बाँके कोहलपुरका ३३ वर्षीय बद्रि गडरीयालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

May be an image of motorcycle and text

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*