हेटौंडा। हेटौंडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि तत्कालै सो उपकरणको मर्मत गरी आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको छ ।
उद्योगको व्यवस्थापनले गत चैत १४ गतेबाट करिब सात महिनापछि सिमेन्टको उत्पादन सुरु गरिएलगत्तै चैत १५ गते अपराह्न आगो बाल्ने भट्टी कोलमिलको केही उपकरणमा बिग्रेर भट्टी बन्द गर्नुपरेको थियो ।
उद्योगको कोलमिलमा गएराति कोइला ढुवानी गरी आगो बालिएको थियो । उक्त उद्योगले सिमेन्टको धुलो उत्पादन गर्ने क्लिङ्करको उत्पादन कार्य आजदेखि सुरु गरिएको जनाइएको छ ।
उद्योगमा सिमेन्ट उत्पादन गर्ने कार्य नियमित आगामी दुई महिनासम्म पुग्ने कोइला जगेडामा राखिएको जनाउँदै बाँकी नपुग कोइला खरिद गर्न उद्योग व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको जनाएको छ।
हेटौँडा सिमेन्ट उद्योग प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठका अनुसार उद्योगका लागि आवश्यक कच्चा पदार्थ कोइला खरिद गर्न तत्काल आर्थिक सङ्कटको भार व्यहोर्नुपरेकाले सिमेन्ट उत्पादनमा अवरोध उत्पन्न हुँदै आएको हो । उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेको जनाउँदै उनले अहिले विभिन्न उपकरण जीर्ण भएकाले दैनिक ११ हजार बोरामात्र उत्पादन हुने गरेको उल्लेख गरे।


















