हेटौँडा। हेटौँडामा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन सुरु भएको छ । कार्यतालिकाअनुसार, आजबाट असार १ गतेसम्म सातवटै प्रदेशको अधिवेशन हुनेछ । रास्वपाको विधानमा प्रदेश पदाधिकारी सात सदस्यीय हुने व्यवस्था छ । जसमा प्रदेश सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, प्रवक्ता र दुई सहमहामन्त्री रहन्छन् ।
हेटौँडा–१ स्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्घाटन पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले गर्ने भएका छन् । यसअघि सभापति रवि लामिछानेले अधिवेशनको उद्घाटन गर्ने भनिएको थियो । लामिछाने नआउने भएपछि महामन्त्री बुर्लाकोटीले अधिवेशन उद्घाटन गर्ने भएका हुन् । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट छनोट भएका करिब १ हजार ५०० प्रतिनिधिको सहभागिता रहने रास्वपाले जनाएको छ ।
पहिलोपटक हुन लागेको अधिवेशनमा सभापति, उपसभापतिलगायतमा को–को आकांक्षी छन् ?
बागमती प्रदेशको सभापतिका लागि मुख्य दुईजना दाबेदार देखिएका छन् । बागमतीको सभापतिमा डा. अच्युत्तम लामिछाने र उत्सव अर्याललाई बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको रास्वपाका एक नेता बताउँछन् ।
लामिछाने रास्वपा स्थापनाकालदेखि प्रदेश सभापति छन् । अर्याल बागमती समितिका प्रवक्ता छन् ।
उपसभापति पदमा स्वास्थ्य क्षेत्रसँग आबद्ध डा. रमेश ढकाल र मेनुका ठकुरी आकाङ्क्षी देखिएका छन् । यस्तै वर्तमान महामन्त्री सुरेन्द्र भट्ट पुनः सोही पदमा दोहोरिने तयारीमा छन् ।
६५ सदस्यीय प्रदेश समिति
रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ । समितिमा एक–एक जना सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुई जना सहमहामन्त्री रहनेछन् । सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ ।
त्यसैगरी कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ । विधानअनुसार निर्वाचन भएमा दुई चरणमा मतदान हुनेछ । पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरूमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ ।
रास्वपाले बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । सिन्धुपाल्चोक जिल्ला अधिवेशन भने स्थगित भएको छ । जिल्ला अधिवेशनबाट छनोट भएका प्रतिनिधिहरूले प्रदेश नेतृत्व चयनमा मतदान गर्नेछन् ।
रास्वपा मकवानपुरका जिल्ला सभापति सञ्जीव पाठकका अनुसार अधिवेशनमा पार्टीका केन्द्रीय पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताको व्यापक सहभागिता रहनेछ । उनका अनुसार अधिवेशनमा सङ्गठन विस्तार, सुशासन, भ्रष्टाचार नियन्त्रण, जनसरोकारका मुद्दा तथा आगामी राजनीतिक रणनीतिबारे समेत विस्तृत छलफल हुनेछ ।
रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।




















